
भैरहवाका युवा अजयकुमार गुप्ताले आगामी कात्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, स्थानीय क्षेत्रको र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको बताए ।
सिद्धार्थनगर–३ निवासी गुप्ता व्यवसायी, समाजसेवी, संचार तथा बौद्धिक युवाका रुपमा गनिन्छन्। विद्यार्थीकालबाटै विभिन्न पार्टीका कमिटीहरुमा रहेर काम गरेका उनी सफल युवा उद्योगीसमेत हुन् । ४३ वर्षीया गुप्ता लुम्बिनी ईंटा उद्योग व्यवसायी संघ, रुपन्देहीको अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।
रोटरी क्लब अफ भैरहवा, साहु कल्याण समिति, रूपन्देहीका सल्लाहकार, काशी नोबल एकेडेमीका संचालक समिति उपाध्यक्षसमेत रहेका उनी संचार उद्यमी पनि हुन् । उनले भैरहवाका आधा दर्जन संघसंस्थामा रहेर काम गर्दै आएका छन् । उनी आर एण्ड एन ईंटा उद्योगका संचालक, नेपाल–भारत अवध मैत्री समाज, रुपन्देहीका अध्यक्ष, दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्र, सिद्धार्थनगर अध्यक्ष छन् ।
गुप्ताको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रहेको छ। रुपन्देहीका युवाहरुमाझ लोकप्रिय उनी शिक्षित र योजनाकारका रुपमा चिनिन्छन्। उनका बुवा रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्वउपमेयर समेत हुन्। रतनकुमार २०४९ देखि २०५४ सम्म सिद्धार्थनगरको उपमेयर भएर काम गरेका थिए। आफूले राप्रपा छाडेपछि आफ्नो पार्टीमा भित्र्याउन विभिन्न दलहरुले प्रस्ताव गरे पनि हालसम्म उनी स्वतन्त्ररुपमा काम गर्दै आएका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ ले स्थानीय नेता नपाउँदा जनता र क्षेत्रको समस्या जहाँकोतही रहेको उनले बताए। उम्मेदवारीसँगै गुप्ताले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् । ‘अबको नेतृत्व रैथाने’ भन्दै गुप्ताले ६ वटा बुँदामा आफूले अघि सार्ने एजेण्डा तय गरी सार्वजनिक गरेका हुन् । जसअनुसार पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरु गर्न पहल गर्ने उनले बताए ।
‘यो क्षेत्र र समग्र रुपन्देहीलाई पर्यटनबाटै समृद्ध बनाउन सकिन्छ’, उनले भने, ‘यसका लागि सही नेतृत्व, सही नीति, कार्यक्रम र योजनाहरु हुनुपर्छ । यी सबै कुराहरु मसँग छन् । यसमा मैले काम गर्नेछु ।’यस्तै, कृषितर्फ कृषकको आर्थिक सुधारका लागि मल, बीउ एवं सिंचाईका लागि सुविधा र उत्पादित सामाग्रीहरुको बजारीकरण गर्ने उनले योजना अघि सारेका छन्। यसैगरी उद्योगतर्फ उद्योगी–व्यवसायीहरुले हाल भोगिरहेको समस्याहरु समाधान लागि उच्च प्राथमिकता दिने उनको भनाइ छ । ‘उद्योगमैत्री नीति र कार्यान्वयन गर्न पहल गरी रुग्ण उद्योग संचालन, रोजगारी सिर्जना र लगानीकर्तालाई प्रोत्साहन गर्न मैले भूमिका खेल्नेछु’, उनले भने ।
गुप्ताले गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि नै समाधानको पहल गर्ने, जिल्लामा उत्पादित सम्पूर्ण सामाग्रीहरुलाई विश्वबजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी गर्ने जनाए। यस्तै, अन्तर्राष्ट्रियरुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्रविस्तार गरी उपमहानगर बनाउन पहल गर्ने र समानुपातिक रुपमा क्षेत्रको विकास गर्ने बताए ।