मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

धरहराबाट करिब पाँच करोड राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट चार करोड  ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ ।   

गत मंसिर ९ गतेदेखि  शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।  

उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् ।  जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् ।  हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेका छन् ।    

‘बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन,’ व्यवस्थापन एकाइ प्रमुख राईले भने, ‘बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयभन्दा बढीले धरहरा चढ्ने अनुमान छ ।’

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।  

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मंसिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो ।  

यहाँ पार्किङ गर्दा चारपांग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपांग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरापरिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ ।