
चोरी तथा डाँकामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ६ घर भई हाल काठमाडाैं जिल्ला गोकर्णेश्वर नगरपालिका– ४ बस्ने वर्ष २८ का अन्जन तामाङ र काभ्रेपलाञ्चोक जिल्ला घर भई हाल काठमाडाैं जिल्ला गोकर्णेश्वर नगरपालिका– ४ बस्ने वर्ष ३२ का सुरेश तामाङ रहेका कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
पक्राउ परेका उनीहरूले २९ चैत ०८१ को साँझ १७:१५ बजेको समयमा पोखरा– १०, अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एकजना महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा– १०, शिवचोक पुग्दा सोही बसमा सवार दुईजना व्यक्तिहरूले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार भएका थिए ।
सुनको सिक्री चोरी तथा लुटपाट गरी फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरू दुईजनालाई बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका– ४ बाट पक्राउ गरी पोखरा ल्याइएको प्रमुख ओलियाले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा बिहीबार ६ दिन म्याद थप गरी विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।