मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o६:o५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीले बालुवाटारमै बोलाए त्रिविसभाको वार्षिक बैठक

विश्वविद्यालयमै बैठक बस्नुपर्ने पक्षमा पदाधिकारी

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o५:oo
  • यसपटक त्रिविसभामा विद्यार्थीको प्रतिनिधित्व नरहने, पूर्वउपकुलपति केदारभक्त माथेमा भन्छन्– विद्यार्थीको उपस्थितिविना बैठक बस्नु न्यायोचित हुँदैन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परम्पराअनुसार सभाहलमा बस्ने वार्षिक सभा प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् । त्रिविका पदाधिकारी भने बैठक विश्वविद्यालयमै बस्नुपर्ने पक्षमा छन् । 

विश्वविद्यालयको शैक्षिक स्वायत्तता र परम्पराको दृष्टिले बैठक स्थलको परिवर्तनप्रति त्रिवि पदाधिकारी असन्तुष्ट देखिएका छन् । त्रिविका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘त्रिविको वार्षिक सभा हो, त्यसैले त्रिविमै तय मितिअनुसार बस्नुपर्ने हो । तर, प्रधानमन्त्रीले समय नदिएपछि बैठक उहाँको अनुकूलतामा बालुवाटारमा सारिएको छ, यो सही अभ्यास होइन ।’

सामान्यत: बैठक २० असारमा राख्नुपर्ने थियो । प्रधानमन्त्री एवं त्रिवि कुलपतिले यसलाई २२ असारका लागि सारेका थिए । १२:४५ बजेका लागि त्रिविसभाको वार्षिक बैठक तोकिए पनि प्रधानमन्त्री ओली नआएपछि रोकिएको थियो । वार्षिक बैठक तिथि (शुक्ल नवमी)मा बस्नुपर्ने परम्परा भए पनि ओलीले उक्त नियम मिचेर बैठक बोलाएका हुन् । 

त्यस दिन ओलीले बैठक राखेनन् । बैठकले त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त गरेका विद्यार्थीको सूची पास गर्ने कार्यसूची छ । उपाधि प्राप्त ८९ हजार सात सय विद्यार्थी छन् । 

विद्यार्थीलाई बेवास्ता 
त्रिवि सभामा विद्यार्थी प्रतिनिधिसमेत रहने व्यवस्था छ । तर, यसपटक भने विद्यार्थी प्रतिनिधि नियुक्ति गर्न बाँकी रहेकाले सभामा उनीहरूको सहभागिता नहुने भएको छ । विद्यार्थी प्रतिनिधि नियुक्ति गर्ने जिम्मा त्रिवि कार्यकारी परिषद्को हो । तर, हालसम्म विद्यार्थी प्रतिनिधिहरूलाई नियुक्त गरिएको छैन । त्रिवि कुलपति एवं प्रधानमन्त्री ओलीले सभामा विद्यार्थी राख्दा बढी प्रश्न उठाउने र बैठक लम्बिने भन्दै कार्यकारी परिषद्लाई विद्यार्थी प्रतिनिधि नियुक्ति नगर्न निर्देशन गरेको त्रिवि स्रोत बताउँछ । 

त्रिवि स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थी प्रतिनिधिविनै बैठक बोलाउनु विद्यार्थीको अधिकार खोसिएजस्तै रहेको बताए । उनले भने, ‘सभामा नबोलाउनु भनेको विद्यार्थी आवाज दबाउनु हो । नियुक्ति गर्न नसक्नु परिषद्को कमजोरी हो । विद्यार्थीविना सिनेट बस्न मिल्दैन । कुलपतिले स्वेच्छाचारी रूपमा सभा राख्नु विद्यार्थीको अधिकार हनन गर्नु हो ।’ 

त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यार्थीको उपस्थितिविना बैठक बस्नु न्यायोचित नहुने बताए । उनले भने, ‘सभामा विद्यार्थीको प्रतिनिधि हुँदा सिनेट थप जिम्मेवार र समावेशी देखिन्छ । विद्यार्थी पक्ष पनि असन्तुष्ट हुँदैनन् । विद्यार्थीलाई समावेश नगर्दा उनीहरूका आवाज दबाएझैँ हुन्छ । सभामा विद्यार्थी उपस्थिति हुनुपर्छ ।’

त्रिवि उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बालुवाटारमा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्याललाई पद तथा गोपनीयताको शपथ गराउँदै। साथमा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त।

त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् । त्रिवि प्रशासनिक भवनमा माओवादीनिकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेकाले उनले सचिवालयबाहिरको कोठामा पदभार ग्रहण गरे । उनी त्रिविका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्राज्ञसमेत हुन् ।

उपकुलपति अर्यालले त्रिविको सुधार तालाबन्दी अन्त्यबाट गर्ने बताए । ‘तालाबन्दीका कारण काम गर्न नसकिने अवस्था हुनु राम्रो होइन, तालाबन्दीको कारण पत्ता लगाएर तालाबन्दी सदाका लागि अन्त्य गर्ने मेरो पहिलो योजना हो, तालाबन्दी सबैभन्दा ठुलो समस्याको जड हो,’ उनले भने । त्रिविमा विदेशी विद्यार्थी भित्र्याउने वातावरण तय गर्ने, शैक्षिक सुधार गर्ने, त्रिविको पुनर्संरचना गर्ने, पाठ्यक्रम परिमार्जन गर्ने, क्यालेन्डर ट्र्याकमा ल्याउनेलगायत योजनालाई अर्यालले प्राथमिकतामा राखेका छन् ।