
प्रधानमन्त्री केपी ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनका अवसरबाट नेपालको वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनाका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराउँदै सम्मेलनमा आफूले गरेको सम्बोधन, भएका भेटवार्ता र साइडलाइन बैठकले नेपालको अन्तर्राष्ट्रिय छवि उचो भएको बताए ।
‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आह्वान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास साझेदारीका प्राथमिकताहरू मुखरितका प्रयास गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक साबित भएको छ । आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।’