१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format o७:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनमेल विवाहले निम्त्यायो त्रासदी : श्रीमतीसहित चारको सामूहिक हत्यापछि प्रहरीमा आत्मसमर्पण

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format o७:३५:oo

अनमेल विवाहले भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, घोद्लेखानीमा बीभत्स परिणाम निम्त्याएको छ । २७ वर्षीय युवकले शनिबार राति श्रीमती, सासू–ससुरा र सालाको हत्या गरेर आफूले प्रहरीसामु आत्मसमर्पण गरेका छन् । 

भोजपुर नगरपालिका–२, हेलौँछा घर भई वडा नम्बर ७ मा डेरा गरी बस्दै आएका २७ वर्षीय राजेन्द्र राईले ससुराली घरमा रहेका चारैजना १५ वर्षीया श्रीमती मनीषा गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको शनिबार राति सामूहिक हत्या गरेको प्रहरीले जनाएको छ । बेलबहादुरका तीन छोरीमध्ये दुई छोरीको विवाह भैसकेको छ भने कान्छी छोरी मनीषा घरमा थिइन् । दुई छोरामध्ये जेठा जिल्लाबाहिर छन् ।

हत्यापछि राजेन्द्रले राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्’ भनेको भोजपुर प्रहरीका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए । घटनास्थलमा चारजनाको शव बीभत्स अवस्थामा फेला परेको थियो भने घाइते राजेन्द्र दुई किलोमिटर पर फेला परेका थिए ।

चारैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ । पेटमा चोट लागेका राजेन्द्रको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

स्थानीयका अनुसार जेठी श्रीमतीको निधनपछि भोजपुरका राजेन्द्रले बेलबहादुरकी कान्छी छोरीसँग ९ महिनाअघि प्रेम विवाह गरेका थिए । तर, माइती पक्षले उमेर नपुगेको भन्दै गत पुसमा १५ वर्षीया छोरी मनीषालाई छुट्याएर ल्याएका थिए । श्रीमती घर लैजाने भन्दै राजेन्द्र पाँच दिनअघि ससुराली पुगेका थिए । केही दिन ससुरालीमा बसेका उनीसँग शनिबार साँझ छोरीलाई लैजाने र लैजान नदिने विषयमा सासू–ससुरासँग विवाद भएको थियो । 

विवादमा समस्या समाधान हुन नसकेपछि राति १० बजेतिर राजेन्द्रले धारिलो छुरा प्रहार गरेर ससुरा, सासू, श्रीमती र बालक सालाको हत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । ‘श्रीमती फिर्ता लिन जाँदा सासू–ससुराले मानेनन् । ओछ्यानमै आएर छुरा प्रहार गरेपछि ज्यान जोगाउन सबैको हत्या गरेको हुँ,’ राजेन्द्रले प्रहरीमा बयान दिएका छन् ।

रामप्रसाद राई गाउँपालिका–२ का वडासदस्य सुन्दरकुमार राईका अनुसार बेलबहादुरको परिवार खोटाङबाट बसाइँ सरेर आएको हो । मावलीको जग्गामा बाँसको घर बनाएर सपरिवार अधियाँमा खेतीपाती गर्दै आएका थिए ।