१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २२ आइतबार o७:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी यू–१६ इस्ट जोन कप : नेपाल फेरि च्याम्पियन

विपिन शर्माको कप्तानीमा रहेको नेपालले अपराजित यात्रा कायम राख्दै लगातार उपाधि जित्न सफल भयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार o७:२६:oo

नेपालले एसिसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ । शनिबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपालले सिंगापुरविरुद्ध दुई विकेटको जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदा एक सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा विपिन शर्माको कप्तानीमा रहेको नेपालले २९ ओभरमा आठ विकेट गुमाउँदै जित निकालेको हो । नेपाल यो प्रतियोगितामा लगातार चौथोपटक च्याम्पियन भएको हो । यसअघि सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो । प्रतियोगितामा नेपालका रौनक श्रीवास्तव उत्कृष्ट ब्याटर तथा कप्तान विपिन उत्कृष्ट बलर घोषित भएका छन् । नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटान तथा सेमिफाइनलमा घरेलु टोली मेलसियालाई पराजित गरेको थियो ।

ब्याटिङमा नेपालको संघर्ष
अपराजित रहँदै च्याम्पियन भएको नेपालले फाइनलमा भने कमजोर ब्याटिङ प्रदर्शन गर्‍यो । जसका कारण नेपाललाई जित निकाल्न हम्मेहम्मे परेको थियो । जोय थापाले अविजित २४, शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रसिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले अविजित १० रन बनाए । सिंगापुरका लागि कपसि वेंकटेशरमनले चार, युभान पाण्डेले दुई तथा वेदांश गुप्ता र आकाश तेजाले समान एक विकेट लिएका थिए ।

सिंगापुर सस्तैमा समेटियो
नेपाली बलर चम्किएपछि सिंगापुरका ब्याटर सस्तैमा समेटिएका थिए । सिंगापुरका लागि रोहन अस्टिन अरुणले २३, कप्तान रियान नाइकले १५, वेदांश गुप्ताले १२ र आकाश तेजाले १० रन बनाएका छन् । नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन विकेट हात पारेका हुन् । शुभम खनालले दुई तथा कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिए ।

रौनक र विपिन सर्वाेत्कृष्ट
लगातार उपाधि जितेको नेपालले व्यक्तिगत अवार्डमा पनि ‘क्लिन स्विप’ गरेको छ । नेपालका रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर बनेका छन् । उनले ६ खेलमा दुई सय ९६ रन बनाएका थिए । इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा शतकसहित १६८ रन बनाएका थिए । रौनकले ब्याटिङ धेरै राम्रो हुँदा सहज जित निकालेको बताएका छन् । ‘हामीले धेरै राम्रो ब्याटिङ गरेका छौँ । त्यसैको नतिजा निस्कियो । 

च्याम्पियन भयौँ ।’ यस्तै, नेपाली टोलीका कप्तान विपिन उत्कृष्ट बलर बने । उनले प्रतिनिधित्व दौरान १७ विकेट लिएका थिए । नेपालका लागि प्रसिद्ध जैशीले पनि एक शतक र एक अर्धशतकसहित २७८ रन बनाएका थिए ।

सबैजना खुसी छौँ : विपिन शर्मा, कप्तान, नेपाल
हामी यो उपाधिबाट धेरै खुसी छौँ । हामीले राम्रो खेल खेलेका छौँ । मेरो बलिङ पनि राम्रो भयो । यो मेरो सपना थियो । एक दिन देशबाट खेल्ने । यो उपाधि जितेपछि सबैजना निकै खुसी छौँ । नेपालमा राम्रो तयारी गरेर मलेसिया गएका थियौँ । सफल भयौँ ।