
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले संकटग्रस्त रहेकाले त्यसको भविष्य अनिश्चित रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले कुभलो चिताउने, अनुचित काम गर्ने, दक्षिणपन्थी अवसरवादमा डुब्ने प्रवृत्तिलाई परास्त गर्नैपर्ने बताए।
उनले भने, ‘नेपालको मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ। त्यहाँभित्र अन्तरविरोध बढ्दै गइरहेको छ। अब त्यसको भविष्य के हुने हो त्यति सजिलै भन्न सकिने अवस्था छैन।’
यद्यपि, पछिल्लो समय विश्वमा वामपन्थीहरूको उदय भइरहेको भन्दै अध्यक्ष नेपालले निराश नहुन कार्यकर्ताहरूलाई आग्रह गरे। उनले भने, ‘अहिले ल्याटिन अमेरिकाका जनता हेर्नुहोस्– त्यहाँ वामपन्थीहरूले एकपछि अर्को चुनाव जितिरहेका छन्। अफ्रिकाका देशहरूमा हेर्नुस्– वामपन्थी आन्दोलन अघि बढिरहेको छ। युरोपका विभिन्न देश हेर्नुस्– वामपन्थी जनमत बढिरहेको छ।’
अन्तर्राष्ट्रिय जगतमा कम्युनिस्टहरूको प्रगतिले आफूहरूलाई पनि उत्साही गराएको उल्लेख गर्दै नेपालले भने, ‘त्यसो हुनाले कम्युनिस्ट पार्टीको भविष्य छ, कम्युनिस्ट आन्दोलनको भविष्य छ।’