१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार १८:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सरूको स्थानमा प्रीति खेल्दै, अञ्जिला दोस्रो खेलमा पनि बेन्चमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १८:o३:oo

एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो एघार सार्वजनिक भएको छ। उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा खेल जारी छ।

बुधबार मुख्य प्रशिक्षक प्याट्रिक डी विल्डेले पहिलो खेलमा लाओसविरुद्ध खेलेको टिमबाट सरु लिम्बूलाई मात्रै परिवर्तन गरेका छन्। सरूको स्थानमा अर्की मिडफिल्डर प्रीति राईले मौका पाएकी छिन्।

यस्तै, नियमित गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई लगातार दोस्रो खेलमा आराम दिएका छन्। अञ्जिलाको स्थानमा अञ्जना रानामगरले फेरि मौका पाइन्। कमजोर श्रीलंकाविरुद्ध तेस्रो रोजाइकी गोलकिपर उषा नाथले मौका पाउने अनुमान गरिएको थियो। तर, प्रशिक्षक प्याट्रिकले अञ्जनालाई नै विश्वास गरेका छन्।

समूह ‘एफ’को पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को जित निकालेको थियो। यता, समूहकै अर्को खेलमा बलियो उज्वेकिस्तानले श्रीलंकालाई १०–० ले हराएको हो। समूहको शीर्ष एक टोलीले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र उज्वेकिस्तानबिचको एक टिमले एसिया कपमा स्थान बनाउनेछ। 

स्ट्राइकर सावित्रा भण्डारीको कप्तानीमा नेपाल लगातार दोस्रो खेलमा ३–२–३–२ शैलीमा मैदान उत्रिँदै छ। डिफेन्डरमा गीता रानामगरसँगै निशा थोकर र समीक्षा घिमिरेले अवसर पाएका छन्। डिफेन्सिभ मिडफिल्डरमा प्रीति र सरस्वती हमाल छन्। प्रीति पहिलो खेलमा दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरेकी थिइन्।

मिडफिल्डमा पूर्वकप्तान रेनुकालाई सविता रानामगर र अनिता बस्नेतले साथ दिएका छन्। नेपालको अग्रपंक्तिमा सावित्रालाई सहयाेग गर्न रश्मीकुमारी घिसिङ छिन्।