१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format २२:o५:oo
Read Time : > 1 मिनेट
विश्व

विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ : संयुक्त राष्ट्रसंघ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o५:oo

संयुक्त राष्ट्रसंघअन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ।

विश्व मौसम संगठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट भने, ‘उत्तर गोलार्द्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गर्छ । तर, यसपटक गर्मीयामको सुरुमा नै यस्तो तीव्र तापक्रम देखिनु असाधारण अवस्था हो।’

उनले अत्यधिक गर्मीलाई ‘शान्त घातक’ भन्ने गरिएको उल्लेखसमेत गरेका छन्। उनले भनेका छन्– यसबाट हुने मानवीय क्षति आँधी वा वर्षाजस्ता अन्य प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्छ, तर औपचारिक तथ्यांकमा प्रायः कम देखिन्छ । उनका अनुसार गर्मीबाट हुने हरेक मृत्यु रोकिन सक्ने खालका हुन्छन् । हामीसँग पर्याप्त जानकारी, प्रविधि र पूर्वतयारीका माध्यमहरू छन्, जसको सहायताले जनजीवन जोगाउन सकिन्छ।

पश्चिमी युरोप हाल उच्च वायुमण्डलीय दबाबको प्रभावमा रहेको र यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई क्षेत्रमै थुनिएको अवस्था रहेको जानकारी दिँदै प्रवक्ताले भनेका छन्– 'यसले मानिसहरूको दैनिक व्यवहार र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।'

साथै, भूमध्यसागर क्षेत्रमा समुद्री सतहको तापक्रम अत्यन्तै बढिरहेको र यसले स्थल क्षेत्रमा समेत गर्मीको लहरलाई थप बल प्रदान गरिरहेको प्रस्ट पारे। सहरका पक्की संरचनाहरूले ताप सोस्ने क्षमता कम हुने, हरियालीको अभाव रहने भएकाले सहरहरूमा गर्मीको प्रभाव अझ बढी हुने प्रवक्ताले बताए। 
संगठनले जनसुरक्षा सुनिश्चित गर्न पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालन र समन्वित कार्ययोजना आवश्यक रहेको भन्दै सम्बन्धित निकायहरूलाई थप सक्रिय र सजग हुन अनुरोध गरेको छ।

प्रवक्ताले अन्त्यमा भनेका छन्– मानवजन्य कारणले उत्पन्न जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी अब बारम्बार देखिने, अझ तीव्र हुने परिस्थिति बन्दै गएको छ। भविष्यमा यस्ता अवस्था दोहोरिने मात्र होइन, अझ गम्भीर रूप लिन सक्छ। त्यसैले, समयमै तयारी र सजगता आवश्यक छ।