१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार १६:३५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक अझै अन्याेल, बागमती प्रदेश सभापरिसर सुनसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १६:३५:oo

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक सत्तारूढ दलहरूकै आन्तरिक असमझदारीका कारण बस्न नसक्दा प्रदेश सभापरिसर सुनसान छ।

१ असारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमाथि असहमति जनाउँदै सत्तापक्षीय दलहरूले नै त्यसको विरोध गर्दै आएका छन्। जसका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि आजै अपराह्न ४ बजेका लागि सारिएको थियो। तर, अहिलेसम्म बैठक बस्ने कुनै सुरसार छैन।

सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूमै बजेटप्रति असन्तुष्टि देखिएको छ। कांग्रेस संसदीय दलको बैठकमा बजेटकै विषयमा तीव्र छलफल भइरहेको एक सांसदले जानकारी दिए। उनका अनुसार केही क्षेत्रगत तथा योजनागत विभाजनप्रति सांसदहरू असन्तुष्ट देखिएका छन्।

त्यसैगरी, अर्को सत्तासाझेदार एमालेको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन। एमालेका शीर्ष नेताहरू प्रदेश सभापरिसरमा समेत देखिएका छैनन्। एकजना एमाले सांसदका अनुसार नेताहरू अन्यत्र छलफलमा जुटेका हुन सक्छन् । प्रमुख प्रतिपक्षी दल माओवादीसहित अन्य दलका नेता तथा सांसदहरू पनि प्रदेश सभापरिसरमा देखिएका छैनन्।

यसअघि १२ असारमा तय गरिएको बैठक पनि सहमति नजुटेकै कारण १६ गतेसम्मका लागि स्थगित गरिएको थियो।