
अपेक्षित रूपमा कर्जाको माग नबढ्दा बैंकहरूमा तरलता थुप्रिएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थामा कर्जा दिन मिल्ने आठ खर्ब ४२ अर्ब रुपैयाँ थुप्रिएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७८.०५ प्रतिशत छ । त्यस्तो अनुपात ९० प्रतिशतसम्म हुने गरी कर्जा प्रवाह गर्न पाइन्छ । अर्थात्, बैंकहरूले अझै निक्षेपको ११.९५ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंकहरूमा रहेको ७० खर्ब ४३ अर्ब रुपैयाँ निक्षेपका आधारमा ऋण दिन मिल्ने रकम आठ खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ देखिन्छ ।
पछिल्लो समय आर्थिक शिथिलतालगायतका कारण कर्जाको मागमा कमी आएको छ । त्यसले गर्दा बैंकहरूमा ऋण दिन मिल्ने रकम थुप्रिएको छ । अहिले असारमा पनि बैंकहरूको कर्जा प्रवाह न्यून हुन्छ । आर्थिक वर्षान्तका कारण बैंकहरू कर्जा प्रवाहभन्दा पनि असुलीमा केन्द्रित हुन्छन् । त्यसमाथि सरकारले यो वेला खर्च उच्च गर्दा निक्षेप भने बढ्नेछ ।
१२ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात अझै ८० प्रतिशत माथि
बैंकहरूमा निक्षेप थुप्रिँदै जाने र कर्जा प्रवाह बढ्न नसकेर लगानीयोग्य पुँजी बढ्दै गइरहेको छ । तर, चालू आर्थिक वर्ष ०८१÷८२ को जेठसम्मको तथ्यांकअनुसार अधिकांश वाणिज्य बैंकहरूको कर्जा निक्षेपको अनुपात भने ८० प्रतिशतभन्दा बढी नै देखिन्छ । बैंकहरूको तरलता मापन गर्ने प्रमुख सूचकमध्ये कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) पनि हो ।
सबै वाणिज्य बैंकहरूको यस्तो अनुपात औसतमा ७८.४४ प्रतिशत पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । यद्यपि, कुल २० वटा वाणिज्य बैंकमध्ये १२ बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशतभन्दा माथि छ । यस्तो अनुपात ९० प्रतिशतभन्दा कम हुनुपर्ने केन्द्रीय बैंकको प्रावधान छ ।
सबैभन्दा उच्च सिडी अनुपात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छ । यो अनुपात ८५.६० प्रतिशत छ । त्यसपछि माछापुच्छे« बैंक लिमिटेडको ८४.४५ प्रतिशत, प्राइम कमर्सियल बैंक लिमिटेडको ८४.३९ प्रतिशत, एनएमबि बैंक लिमिटेड प्रतिशत र नबिल बैंक लिमिटेडको ८३.५९ प्रतिशत छ । यस्ता बैंकहरूको निक्षेपको तुलनामा कर्जा विस्तार बढी देखिएकाले सिडी अनुपात दबाबमै रहेको देखिन्छ ।
निक्षेपको अनुपातमा कर्जा प्रवाह सुस्त देखिएका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (६४.३१ प्रतिशत), प्रभु बैंक लिमिटेड (७१.५० प्रतिशत), स्ट्यान्डर्ड चार्टर्ड बैंक (७१.५७ प्रतिशत), नेपाल एसबिआई बैंक लिमिटेड (७२.१ प्रतिशत) र नेपाल बैंक लिमिटेड (७२.१३ प्रतिशत) छन् । यी बैंकहरूको सिडी अनुपात औसतभन्दा कम छ ।
नेपाल राष्ट्र बैंकको गत बिहीबार (१२ असार) वाणिज्य बैंकहरूको निक्षेप संकलन ६३ खर्ब तीन अर्ब रुपैयाँ छ । बैंकर्स संघका अनुसार जेठ मसान्तसम्म ६२ खर्ब ५८ अर्ब थियो । १२ दिनको अवधिमा ४५ अर्ब निक्षेप थपिएको छ । त्यस्तै, बिहीबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४९ खर्ब ५५ अर्ब छ ।
संघका अनुसार जेठ मसान्तसम्म ४९ खर्ब ४७ अर्ब थियो । अर्थात् १२ दिनमा आठ अर्ब कर्जा विस्तार भएको छ । कर्जा विस्तार हुन नसकेपछि वाणिज्य बैंकहरूले स्थायी निक्षेपको सुविधा लिएका छन् । आइतबार मात्रै बैंकहरूले एक खर्ब ८० अर्ब ५५ करोडको यस्तो सुविधा लिएका छन् । यो मंगलबारसम्मका लागि लिइएको हो ।
एक सय ९७ खर्बको स्थायी निक्षेप सुविधा
चालू आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट एक सय ९७ खर्ब ९४ अर्ब रुपैयाँबराबरको स्थायी निक्षेप सुविधा (एसडिएफ) लिएका छन् । बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता व्यवस्थापनका लागि स्ट्यान्डिङ डिपोजिट फेसिलिटी (एसडिएफ)मार्फत राष्ट्र बैंकमा निक्षेप जम्मा गर्ने गर्छन् । यसबिचमा बैंकहरूले एक दिनमा २१ अर्बदेखि तीन खर्ब ७२ अर्ब रुपैयाँसम्मको एसडिएफ सुविधा लिएको राष्ट्र बैंकको तथ्यांक छ ।
राष्ट्र बैंकले ८० फागुनदेखि यस्तो सुविधा सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको सिआरआरबाहेकको पैसा राष्ट्र बैंकमा राख्न पाउँछन् । निश्चित दिनका लागि हुन्छ । यसबाट बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउँछन् । यो ब्याजदर करिडोरको तल्लो सीमा हो । बैंकहरूले तरलता अभाव भएका वेला स्थायी तरलता सुविधा लिन्छन् । यसको ब्याजदर साढे ६ प्रतिशत हुन्छ, जुन ब्याजदर करिडोरको माथिल्लो सीमा हो ।
आइतबार मात्रै बजारबाट ३० अर्ब तरलता प्रशोचन
बजारमा तरलताको अत्यधिक चाप बढेपछि नेपाल राष्ट्र बैंकले आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ३० अर्ब रुपैयाँ प्रशोचन गरेको छ । राष्ट्र बैंकले ६३ दिनको निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो । यसका लागि राष्ट्र बैंकले आइतबार बोलकबोल आह्वान गरेको थियो । बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न भनिएको थियो । राष्ट्र बैंकले १५ भदौमा बैंकहरूलाई साँवा र ब्याज भुक्तानी गर्नेछ ।
अधिक तरलताले अर्थतन्त्रमा गतिरोध यथावत् छ भन्ने संकेत गर्छ
नरबहादुर थापा अर्थविद्
बैंकहरूमा अधिक तरलता हुनुले अर्थतन्त्रमा गतिरोध यथावत् छ भन्ने संकेत गर्छ । कर्जा प्रवाह अपेक्षित हुन सकेको छैन, कर्जाको माग नै बढ्न सकेको छैन, यसले अर्थतन्त्रमा सुधार आएको छैन भन्ने देखायो । ब्याजदर माथि जाने दबाबमा जान सकेको छैन । खासमा तरलता सुविधा पनि हो, समस्या पनि हो । निरन्तर अधिक तरलता हुन थाल्यो भने केही अर्थतन्त्रमा केही न केही खराबी छ भन्नै नै हो । अहिले तरलताको सदुपयोग भएको छैन, किन भएको छैन भन्ने प्रश्न उठ्यो, यसमा सरकार र नियामक निकाय गम्भीर हुन आवश्यक छ ।