१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
आइतबार सयौँ अन्तर्राष्ट्रिय खेल पूरा गरेपछि नेपाली महिला फुटबल टोली । तस्बिर सौजन्य : एनएसजेएफ
रमेश सुवेदी काठमाडाैं
Invalid date format o६:५९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी महिला एसियन कप छनोट : ऐतिहासिक खेलमा लाओसमाथि नेपालको सानदार जित

चार दशकको यात्रामा नेपालले आइतबार आफ्नो सयौँ खेल खेल्यो, लाओसविरुद्धको पहिलो भेटमै नवनियुक्त कप्तान सावित्रा एक्लैले गरिन् पाँच गोल

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५९:oo

नेपाली महिला फुटबल टोलीले आइतबार ऐतिहासिक सयांँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध गोलको वर्षा गरेको छ । एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले नयाँ प्रतिद्वन्द्वी लाओसविरुद्ध ९–० को सानदार जित निकालेको हो । लाओस नेपालको २६औँ प्रतिद्वन्द्वीका रूपमा रह्यो । सन् १९८६ मा नेपाली महिला टोलीले हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । 

मुख्य प्रशिक्षक प्याट्रिक डी विल्डे पनि आफ्नो पहिलो आधिकारिक खेलमा नेपाललाई उत्कृष्ट जित दिलाउन सफल भए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत महिना प्रो लाइसेन्स प्राप्त प्याट्रिकलाई महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । मुख्य प्रशिक्षक प्याट्रिकले लाओसविरुद्धको खेलमा नियमित कप्तान परिवर्तन गर्दै टोलीको संरचना परिवर्तन भएको संकेत दिए । प्याट्रिकले उज्वेकिस्तानको तास्केन्तमा सावित्रा भण्डारीलाई कप्तानीको जिम्मेवारी दिएका छन् । 

राष्ट्रिय महिला फुटबल टोलीको ११औँ कप्तान बनेकी सावित्राले लाओसको पोस्टमा एक्लैले पाँच गोल गरिन् । नेपाली महिला टोलीकी पहिलो कप्तान रमा सिंह हुन् । उनकै कप्तानीमा नेपालले हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सावित्राले नेपालको सयौँ अन्तर्राष्ट्रिय खेल तथा आफ्नो कप्तानीमा व्यक्तिगत रूपमै उत्कृष्ट प्रदर्शन गरी स्मरणीय बनाइन् । नेपालको जितमा अनिता बस्नेत, सरु लिम्बू, रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे । नेपालले कमजोर प्रतिद्वन्द्वी लाओसविरुद्ध पहिलो हाफमा दुई र दोस्रो हाफमा सात गोल गरेको थियो ।

फिफा महिला वरीयतामा नेपाल सय र लाओस १०७ स्थानमा छन् । जितसँगै समूह ‘एफ’मा नेपालले ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ । एएफसी एसियन कप छनोट २०२५ को समूह ‘एफ मा नेपाल र लाओससँगै उज्वेकिस्तान र श्रीलंका छन् । समूहको शीर्ष एक टोलीले सन् २०२६ अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछन् । नेपाल चौथोपटक एसिया कपमा स्थान बनाउने योजनामा छ । 

सन् १९८६ मा नेपालले पहिलोपटक एसिया कपमा खेलेको थियो । यसअघि तीनपटक एसिया कप खेल्दा नेपालले सीधै स्थान बनाएको थियो । यसपटक भने नेपाल छनोट चरण पारी गरी एसिया कप खेल्ने लक्ष्यका साथ उज्वेकिस्तान पुगेको हो । 

दोस्रो हाफमा सावित्राको ह्याट्रिक 
अनिताले खेलको १२औँ मिनेटमा नेपाललाई १–० को अग्रता दिलाइन् । कप्तान सावित्राको हेडिङ पासमा अनिताले सहजै गोल गरिन् । सविता रानामगरको क्रसलाई सावित्राले ब्याक हेडिङ गरेपछि अनिताले बल प्राप्त गरेकी थिइन् । खेलको ४४औँ मिनेटमा सावित्राले नेपाललाई २–० को अग्रता दिलाइन् । उनले अनिताको क्रस पासमा हेडिङ गोल गरिन् । दोस्रो हाफको सुरुवातमै सरु लिम्बूले नेपाललाई ३–० को स्थितिमा राखिन् । रेनुका नगरकोटे र सविता रानामगरबिचको सटीक पासमा डिबक्सभित्र अनमार्क रहेकी सरुले सहजै गोल गरिन् । 

सावित्राले लाओसको डिफेन्सको कमजोरीमा ५५औँ मिनेटमा नेपाललाई ४–० को स्थितिमा राखिन् । खेलको ५७औँ मिनेटमा रश्मिले रेनुकाले निकालेको थ्रु पासमा ५–० को अग्रता दिलाइन् । खेलको ७४औँ मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसलाई डिबक्सभित्र नियन्त्रणमा लिँदै उनले ह्याट्रिक गोल गरिन् । 

तीन खेलाडीले पाए मौका
मुख्य प्रशिक्षक प्याट्रिकले प्रतिस्पर्धामा तीन खेलाडीलाई अवसर दिए । खेलको एक घण्टाअघि मिडफिल्डर रेनुका नगरकोटेलाई कप्तानको जिम्मेवारी दिएका प्याट्रिकले टनेल प्रवेश गर्दा स्ट्राइकर सावित्रालाई कप्तानी आर्म ब्यान्ड दिए । प्रशिक्षकको यस निर्णयको सामाजिक सञ्जालमा आलोचना भयो । यसअघि नियमित कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई लाओसविरुद्ध विश्राम दिएको छ । उनको स्थानमा दोस्रो रोजाइकी गोलरक्षक अञ्जना रानामगरले अवसर पाइन् । 

डिफेन्समा निशा थोकर र मिडफिल्डर सरस्वती हमालले पहिलो ११बाटै खेल्न मौका पाए । प्रशिक्षक प्याट्रिकले डिफेन्डर अमृता जैसी र पूजा राना, मिडफिल्डर प्रीति राई र स्ट्राइकर रेखा पौडेललाई पनि विश्राम दिए । नेपालको डिफेन्डरमा निशासहित गीता राना र समीक्षा घिमिरेले खेले । डिफेन्सिभ मिडफिल्डरमा सरु लिम्बू र सरस्वतीले भूमिका निर्वाह गरे । 
अट्याकिङ मिडफिल्डरमा रेनुका नगरकोटेसहित अनिता बस्नेत र सविता रानामगरले मौका पाएका थिए । दोस्रो हाफमा प्रीति, अनिता केसी, पूजा, रेखा र विमला विक मैदानभित्र प्रवेश गरेका थिए । 

बिस्तारै खेलमा सुधार हुनेछ
 प्याट्रिक डी विल्डे, मुख्य प्रशिक्षक, नेपाल

सबैले उज्वेकिस्तान भनिरहेका छन् । उनीहरूको घरेलु मैदानमा नेपालले कडा टक्कर दिनेछ । बिस्तारै टोली बलियो बन्दै गएको छ । एकैपटक बलियो टोली बन्दैन । अवश्य पनि लाओस कमजोर प्रतिद्वन्द्वी थियो । सबै गोल राम्रा थिए । नेपाली महिला टोलीको ऐतिहासिक दिनमा सबै ११ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।