
साबिक विजेता नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको सेलांगोर टर्फ क्लबमा नेपालले कमजोर प्रतिद्वन्द्वी इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो । नेपालको कीर्तिमानी जितमा एक शतकसहित तीन अर्धशतकीय योगदान रह्यो ।
इन्डोनेसियाविरुद्ध प्रसिद्ध जैसीले शतक, रौनक श्रीवास्तव, परिमार्जन यादव र जोय थापाले अर्धशतकीय इनिङ्स खेलेका थिए । ब्याटिङसँगै नेपालले बलिङमा पनि उत्तिकै कसिलो प्रदर्शन गरेको थियो । कप्तान विपिनप्रसाद शर्माले बलिङतर्फ सर्वाधिक ६ विकेट हात पारे । पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रन बनाएको थियो । प्रत्युत्तरमा कप्तान विपिनले घातक बलिङ गरेपछि इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै समेटिँदा नेपाल ३७० रनले विजयी भयो ।
समूह ‘ए’मा तीन खेलबाट नेपालले सर्वाधिक ६ अंक जोडेको छ । यस समूहबाट इन्डोनेसिया बाहिरिएको छ । तीन खेलमा २ अंक जोडेको इन्डोनेसिया चौथो स्थानमा रह्यो । नेपालले आफ्नो समूहमा सिंगापुरलाई पाँच विकेट र जापानमाथि ९ विकेटको जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानको सामना गर्नेछ । नेपालको यो जितसँगै सिंगापुरले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ । अब, नेपालले समूह ‘बी’को एक टोलीसँग सेमिफाइनल खेल्नेछ । समूह ‘बी’मा हङकङले सेमिफाइनल स्थान पक्का गरिसकेको छ । यस समूहबाट मलेसिया र थाइल्यान्डबिच एक टोली अन्तिम चारमा पुग्नेछ ।
इन्डोनेसिया ५० रनमै अलआउट
ब्याटिङ पिचमा इन्डोनेसियाले ४२१ रनको विशाल लक्ष्य पाएको थियो । इन्डोनेसियाले पहिलो विकेटका लागि ९.४ ओभरमा २३ रनको साझेदारी गरेको थियो । इन्डोनेसियाले बाँकी नौ विकेटका लागि स्कोर बोर्डमा केवल २७ रन मात्र जोड्यो । ९.४ ओभरमा पहिलो विकेट पतन भएको इन्डोनेसियाले सबै विकेट २४.३ ओभरमा गुमाएको थियो । इन्डोनेसियाले स्कोर बोर्डमा ४१ रन चढाउँदा पाँच विकेट गुमायो ।
इन्डोनेसियाका लागि कविन निरजले सर्वाधिक १५ र दिभित नन्दाले १४ रन बनाए । चार खेलाडी डकआउट भएका थिए । नेपालका लागि कप्तान विपिनप्रसादले ७.३ ओभरमा दुई मेडनसहित १२ रन खर्चिएर ६ विकेट लिएका हुन् । सुगम बुढाथोकी र सुभम खनालले समान एक विकेट लिए । इन्डोनेसियाका दुई खेलाडी रनआउट भएका थिए ।
प्रसिद्धको शतकीय योगदान
इन्डोनेसियाको खराब बलिङको फाइदा उठाउँदै ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र एक छक्कासहति १३२ रनको योगदान दिए । चौथो नम्बरमा ब्याटिङ गरेका रौनकले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जोडे । आक्रामक ब्याटिङ गरेका ओपनर परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१ रन बटुले । जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७ रन र सुगम बढाथोकीले अविजित ३९ रनको योगदान दिए ।
प्रसिद्ध र परिमार्जनले पहिलो विकेटका लागि ९.३ ओभरमा १३० रनको साझेदारी गरेका थिए । प्रसिद्धले रौनकसँग तेस्रो विकेटका लागि १३६ बलमा १४८ रनको साझेदारी गरे । नेपालले प्रसिद्धलाई गुमाउँदा ३४.४ ओभरमा २९९/३ को अवस्थामा थियो । त्यसपछि सुगम बुढाथोकी र जय थापाबिच पाँचौँ विकेटका लागि ७४ रनको साझेदारी भएको थियो ।