
रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले कांग्रेस सांसद रामहरि खतिवडाको निराधार आरोप संसद्को रेकर्डबाट हटाउन रुलिङ माग गरेका छन्।
शनिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद खतिवडाले अर्यालको नाम नलिई ‘सुमिरे टुर एन्ड ट्राभल्स’ले भिजिट भिसामा विदेश पठाउँदै आएको बताएका थिए। आइतबार उनलाई जवाफ दिँदै अर्यालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्धको आन्दोलनलाई विषयान्तर गर्ने गरी निराधार आरोप लगाइएको बताए।
उनले भने, ‘मेरो कम्पनीबाट एकजना मान्छे मात्र जापान होइन, संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्किएका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु। होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म सभामुखज्यूबाट रुलिङको माग गर्दछु।’
कुनै वेला मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश पठाउँदा जेल परेकाहरू पनि सांसद भएका भन्दै अर्यालले भने, ‘अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए आफैँ टाप कस्लान् । हो म गर्वका साथ भन्छु सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन। मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरूको घडीको समय बिग्रिएको छ भने म के भनौँ।’