१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
२o८२ असार १५ आइतबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १४:४८:oo

यहाँको एक विद्यालयमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित बनेको छ । बागलुङको बडिगाड गाउँपालिका– ४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किँदा पठनपाठन प्रभावित भएको हो ।

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि खसेको पहिरोले दुईवटा भवनका चार कक्षाकोठामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

दुईमध्ये एउटा भवनको गाह्रो भत्किएर पहिरो कक्षाकोठाभित्रै पसेको र अर्को भवनको छानो भत्किएको विद्यालयका प्रधानाध्यापक बमबहादुर बोगटीले जानकारी दिए । दुईवटै विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन गर्न समस्या भएको उनको भनाइ छ । विद्यालयमा सबै ससाना बालबालिका मात्रै अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले बताए ।

उनले भने, ‘पहिरो राति गएको हो, दिउँसोको समयमा गएको भए मानवीय क्षति हुन सक्ने रहेछ, पहिरो अहिले रोकिए पनि विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था छैन, चारवटा कोठामा पहिरोले ठुलो क्षति पुर्‍याएको छ, पहिरो कक्षाकोठाभित्रै पसेपछि हिलाम्मे छ, गाह्रो भत्किएर पुनर्निर्माण गर्नुपर्ने अवस्था छ ।’

गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पठनपाठनलाई तत्काल सञ्चालन गर्न विकल्प खोज्ने बताए । असार १८ गतेदेखि पालिकास्तरीय पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको अवस्थामा पठनपाठन प्रभावित हुन पुगेपछि पालिकाले पठनपाठन गर्ने वातावरण तयार गर्ने उनको भनाइ छ । कक्षा आठसम्म पढाइ हुने उक्त विद्यालयमा १२२ बालबालिका अध्ययनरत छन् ।