१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
Invalid date format o९:१२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

थाइल्यान्डमा विपक्षीले किन मागिरहेका छन् प्रधानमन्त्रीको राजीनामा ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१२:oo
  • प्रधानमन्त्री पेटोङटार्न सिनावात्राविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको तयारी 

थाइल्यान्डमा विगत केही दिनदेखि सरकारविरोधी प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा उत्रिएका छन् । शनिबार पनि प्रधानमन्त्री पेटोङटार्नविरुद्धको प्रदर्शन उग्र बन्यो । कम्बोडियाली नेतासँगको टेलिफोन संवाद र देशको सेनाबारे प्रधानमन्त्री सिनावात्राको विवादास्पद अभिव्यक्तिलाई लिएर सर्वसाधारण नागरिक यतिवेला रुष्ट बनेका छन् ।

कम्बोडियाका एक अग्रज नेताले दुई देशबिचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित सिनावात्रासँग भएको संवाद सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेकी हुन् । केही दिनअघि भएको टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अंकल’ भनेकी थिइन् भने सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेकी थिइन् । यही विषयले प्रधानमन्त्रीविरुद्ध आक्रोश छाएको छ ।

लामो समय सत्तामा रहेको सिनावात्रा वंशको प्रतिनिधित्व गर्दै सरकारको नेतृत्व गरेकी ३८ वर्षीया पेटोङटानमाथि कम्बोडियासँग अनावश्यक रूपमा झुकेको र थाइल्यान्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लाग्दै आएको छ । सोही विषयलाई लिएर गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो ।

शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको प्लेकार्ड र थाइल्यान्डको झन्डा फहराउँदै सडकमा उत्रिए । उनीहरूको प्रदर्शनले सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । प्रधानमन्त्रीले देशद्रोह गरेको प्रदर्शनकारीले आरोप लगाए । प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो ! ’ प्रदर्शनमा प्राय: वृद्धवृद्धा थिए र ‘पहेँलो सर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताले नेतृत्व गरेका थिए । उक्त समूहले सन् २००० को दशकमा पेटोङटार्नका पिता थाक्सिन सिनावात्रालाई सत्ताच्युत गरेको थियो ।

थाक्सिनका पूर्वसहयोगी तर अहिले उनका कठोर आलोचकमध्ये एक नेताले आन्दोलन चर्काइरहेका छन् । ‘म यहाँ थाइल्यान्डको सार्वभौमसत्ताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य छिन् भन्नका लागि आएको हुँ,’ ७० वर्षीय नेता सेरी सावाङमुएले भने । उनले एएफपीसँगको कुराकानीमा अगाडि भने, ‘जब मैले गोप्य रूपमा बाहिरिएको टेलिफोन संवाद सुनेपछि उनलाई विश्वास गर्न सकिन ।’ उनले टेलिफोन संवादप्रति संकेत गर्दै भने, ‘मैले गहिरो राजनीतिक संकटको अनुभव गरेको छु । मलाई थाहा छ कि यो देश कतातिर जाँदै छ । प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार छन् ।’

थाइल्यान्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने ‘पहेँलो सर्ट’ र थाक्सिन–समर्थित ‘रेड सर्ट’बिच दशकौँदेखि संघर्ष रहँदै आएको छ । यसलाई कतिपयले  परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मानेका छन् । अर्का एक पदर्शनकारी ६४ वर्षीया जमनोङ कलानाले आफू कुनै समय ‘रातो सर्ट’ समूहमा संलग्न रहेको तर अहिले रङ परिवर्तन गरेको र फेउ थाइ पार्टीका नेता पेटोङटार्नको राजीनामा माग गरेको बताए । उनले भने, ‘देशलाई माया नगर्ने थाइ साथीलाई देख्दा मलाई गहिरो पीडा हुन्छ ।’ 

थाइल्यान्डमा देखिएको राजनीतिक उथलपुथलले देशको संघर्षरत आर्थिक अवस्थालाई थप क्षति पुर्‍याउने खतरा छ । गत साता पूर्व साझेदार भुमजैथाई पार्टी सत्ताबाट बाहिरिएपछि सरकारले बहुमत गुमाएको छ र सरकार अविश्वासको प्रस्तावको सामना गर्ने भएको छ । शनिबार प्रदर्शनकारीले अन्य गठबन्धन साझेदारलाई पनि राजीनामा दिन आह्वान गरेका छन् ।