
देशले १५ असारमा राष्ट्रिय धान दिवस मनाउँदै गर्दा धानखेतीको अवस्थाबाट कति सन्तुष्ट हुनुहुन्छ ?
यस वर्ष असार लाग्दानलाग्दै राम्रैसित वर्षा भइरहेकाले धेरैतिर रोपाइँ सुरु भइसकेको छ । अहिले नै धानखेती हुने जमिनको क्षेत्रफल बढ्ला या घट्ला, धानको उत्पादन वृद्धि होला या नहोला भनेर अनुमान गर्न त नसकिएला । तर, अहिलेसम्मको मौसमको अवस्था हेर्दा विगतको भन्दा धान उत्पादनमा कमी आउँदैन भन्नचाहिँ सकिन्छ । उत्पादन कति वृद्धि होला, त्यसको यथार्थ विवरण त पछि नै आउला । तर, पहिलेभन्दा उत्पादन नघट्नेमा भने हामी ढुक्क छौँ ।
पहिलेको भन्दा धानखेती भएको जमिन घट्दै गएको तथ्यांक आउनुले उत्पादनको लक्ष्य पूरा होला त ?
अहिले त्यस्तो सम्भावना छैन । प्रधानमन्त्री कृषि आयोजनाको तथ्यांक हेर्दा धानखेती हुने जमिनको क्षेत्रफल घट्दैन । यस वर्ष मौसमले अलि साथ दिएको हुनाले धानखेती हुने जमिनको क्षेत्रफल केही बढेरै जाला । पछिल्लो समयमा रासायनिक मलबारे केही अन्योल थियो । अहिले हामीले मगाएको मल कलकत्ता बन्दरगाहसम्म आइसक्यो । हामीसित मौज्दात रहेको र उताबाट ढुवानी भई आउने रासायनिक मलबाट तत्कालको माग पूर्ति हुने हाम्रो विश्वास छ । किसानले मागेजति पर्याप्त मल दिन नसकिए पनि मल अभावकै कारण असजिलो भने हुनेछैन ।
खेतीयोग्य जमिनको उत्पादकत्व बढाउन रासायनिक मलको विकल्पबारे मन्त्रालयका केकस्ता योजना छन् ?
यसका लागि हामीले यस वर्ष माटोको उर्वरा शक्ति परीक्षणका लागि बजेट विनियोजन गरेका छौँ । एकैपटक सबै गाउँगाउँमा पुग्न नसकिए पनि पाइलटिङका रूपमा सातै प्रदेशमा पुग्ने योजना छ । साथै, प्रांगारिक मलका लागि पनि केही बजेट विनियोजन गरिएको छ । रासायनिक मलको विकल्पका रूपमा प्रांगारिक, कम्पोस्ट, जैविकलगायत मल उत्पादनका लागि हामीले अध्ययन सुरु गरेका छौँ ।