
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेर डा. भट्टराईले हस्ताक्षर गर्दै भट्टराईले ऐक्यबद्धता जनाएका हुन् । पार्टी सभापति रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।
हस्ताक्षरपछि प्रतिक्रिया दिँदै भट्टराईले पुराना शक्तिले उदीयमान शक्तिलाई भ्रूणमै हत्या गर्न खोजेको आरोप लगाए । भान्जा कृष्ण जन्मिएपछि उनीबाटै आफ्नो हत्या हुने ठानेर गर्भवती बहिनीलाई कंशले हिरासतमा राखेको महाभारतको कथा जोड्दै उनले भने, ‘पुराना शक्तिले नयाँ उदीयमान शक्तिलाई कसरी भ्रूणमै हत्या गर्ने भन्ने खोज्छन् । हामीलाई नयाँ शक्ति अभियानदेखि नै थाहा छ । कुनै पार्टीमाथि प्रतिबन्ध लगाउन पाइँदैन भनेर हामीले नै संविधानमा लेखेका छौँ, तर हामीलाई निर्वाचन चिह्न नदिएर अघोषित प्रतिबन्ध लगाएका थिए । त्यसैले, यो उहाँहरूको धर्म नै हो । अहिले पनि जे गरिरहनुभएको छ, सफल हुनुहुँदैन । यसले उल्टो पुराना शक्तिहरू आफ्नै खाडल झन् गहिरो गरी खन्दै हुनुहुन्छ । म त के देखिरहेको छु भने यसले वैकल्पिक नयाँ शक्तिको उदयको निम्ति थप आधार बनाउँदै छ ।’
जनताले सिद्धान्तबाट भन्दा पनि व्यवहारबाट बुझ्ने भन्दै भट्टराईले पुराना शक्तिको गलत हर्कत आमजनताले बुझ्ने गरी प्रकट भइरहेको पनि बताए । यसले नै वैकल्पिक र नयाँ शक्तिहरूको उदयको निम्ति आधार तयार पारिरहेको र यी शक्तिबिच सहकार्य गर्दै यस्ता बेथितिविरुद्ध लडेर देशलाई विकल्प दिनुपर्ने उनको भनाइ छ ।
भट्टराईले रविमाथि भइरहेको कारबाही राजनीतिक प्रतिशोध र विधिको शासनको उपहास भएको बताए । ‘लोकतन्त्र भनेको विधिको शासन हो । विधिको शासनको निम्ति प्रक्रियाबाट जानुपर्छ । तर, अहिले रवि लामिछानेजीको हकमा उहाँलाई घुमाइराख्ने, एकपछि अर्को हिरासतमा राख्ने र जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने कर्तव्य गर्न नदिएर अल्झाउने काम भइराखेको छ,’ उनले भने, ‘यसले चाहिँ विधिको शासनभन्दा पनि अरू कुनै नियतले नै काम गर्या छ कि भन्ने शंका गर्ने प्रशस्त आधार दिएको छ ।’
त्यही भएर आफू ऐक्यबद्धता जनाउन आएको उनले बताए । ‘म पनि लोकतन्त्र र गणतन्त्रका लागि लडेको व्यक्ति हुँ । अर्कोतर्फ कसैमाथि पनि अदालतले तथ्य–प्रमाणसहित दण्डित गरेर दोषी ठहर नगरेसम्म निर्दोष हुन्छ भन्ने सिद्धान्त पनि छ । फेरि एउटा राजनीतिक व्यक्तित्वलाई देखिने गरी प्रतिशोध भएको जुन गन्ध आउँछ यो ठिक भएन भनेर म उहाँप्रति ऐक्यबद्धता प्रकट गर्न आएको हुँ,’ उनले भने ।
रास्वपाले ७ असारदेखि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । शनिबार ७७ वटै जिल्ला सदरमुकाममा यो अभियान सञ्चालन भएको छ । टोल–टोलसम्म पुर्याउने रास्वपाको तयारी छ ।