
देशका केही स्थानीय तहलाई अहिलेसम्म बजेट ल्याउन सकस परिरहेका वेला रामेछापका आठवटै स्थानीय तहहरूले भने सरकारले तोकेको समयसीमाभित्रै आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि पूर्वाधार, खानेपानी, शिक्षा, रोजगारी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
जसमध्ये जनसंख्याको हिसाबले सबैभन्दा ठुलो सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ को लागि एक अर्ब चार करोड ६५ लाख ६४ हजार दुई सय दुई रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालू खर्चमा ६८.७५ प्रतिशत र पुँजीगत खर्चमा ३१.२५ प्रतिशत विनियोजन गरेको छ ।
त्यसैगरी रामेछाप नगरपालिकाले ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ र चालू खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको हो ।
त्यस्तै, लिखु तामाकोशी गाउँपालिकाले ६८ करोड २५ लाख ८६ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको हो। त्यसैगरी, गोकुलगंगा गाउँपालिकाले ५६ करोड ९८ लाख ९४ हजार रुपैयाँबराबरको बजेट ल्याएको छ भने खाँडादेवी गाउँपालिकाले ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको हो ।
त्यसैगरी, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाले ६१ करोड १३ लाख २३ हजार ४२६ रुपैयाँबराबरको बजेट ल्याएको छ । त्यस्तै, सुनापति गाउँपालिकाले ५६ करोड ५० लाख ३९ हजार र जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्बा शैलुङ गाउँपालिकाले ५५ करोड ७१ लाख ८० हजार ५०१ रुपैयाँबराबरको बजेट ल्याएको छ ।
नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले असार १० गते अर्को वर्षका लागि बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्थाअनुसार जिल्लाका सबै पालिकाहरूले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।