१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
Invalid date format १५:४o:oo
Read Time : > 6 मिनेट
समाचार डिजिटल संस्करण

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, विनाझ्यालको एककोठे टहरो । जस्ताले छाएको होचो अनि साँघुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल पसिना काढ्दै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु । आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनी काकी नाता पर्ने पार्वती परियारले ओत लाग्न दिएको यो टहरोलाई सुविधासम्पन्न दरबार मान्न बाध्य छिन् ।

सहिद लखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिकाको आशा र भरोसाको त्यान्द्रो एकमहिने छोरा यही टहरोभित्र हुर्कँदै छ । जुन शिशु गर्भमा आएदेखि आफू पतिबाट र घरबाट लखेटिइन्, माइतीबाट पनि एक्लिइन्, उनै शिशुलाई उनले गत जेठ १० गते गोरखा अस्पतालमा जन्माएकी थिइन् ।

‘अनि बाबुको नामचाहिँ के राखिदिनुभयो त ?’ यो प्रश्नले मनिकालाई झन् भारी चोट दियो । उत्तर दिन नसकेर छाँगाबाट खसेजस्तै भइन् र फेरि सम्हालिँदै भनिन्, ‘खोइ दिदी, बाबु एक महिनाको भइसक्यो, तर नाम के राख्ने केही सोचेकी छैन । न्वारान गरेको भए पो नाम राख्नु ।’ मनिकाले ०८० साल मंसिरमा धादिङको गजुरी गाउँपालिका– २ छेपाङका २३ वर्षका मिलन श्रेष्ठसँग बिहे गरेकी थिइन् ।

अन्तरजातीय विवाह भएकाले मिलनको घरपरिवारले सहजै स्वीकार गर्ला भन्ने आशा मनिकालाई थिएन । ‘तपाईँ नेवारको छोरो, म दमाईँकी छोरी । तपाईंको घरपरिवारले मान्दैन, नबोलौँ भन्थेँ म । उ (मिलन) भने साह्रै जिद्दी, मलाई फकाएर, घुर्क्याएर अनि एकपटक त तीनतले घरको छतबाट हाम्फालेर मायाजालमा फसायो,’ मनिकाले भनिन्, ‘जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फसिहालेँ । उसले मलाई घरमा बाहुनी हो भनेर धुमधामले भित्र्यायो । इष्टमित्र, छरछिमेक बोलाएर भोजभतेर पनि गर्‍यो । मैले नढाटौँ भनेकी थिएँ, तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो । मैले पनि उसले भनेजस्तै गरेँ ।’

बिहेपछि उनीहरू चितवनको कार्यथलो फर्किएका थिए । उनीहरू दुवैजना चितवनको भरतपुर महानगरपालिका– १ गोद्राङस्थित कोकाकोला फ्याक्ट्रीमा काम गर्दथे । ‘हामी चितवन आएपछि मिलनको घरमा मेरो जात थाहा भएछ । मिलनको आमा–बाले हामीलाई फोन गरेर तिमीहरू मर्‍यौ, अब यहाँ नआउनु भन्नुभयो । त्यसपछि उसको घर जाने कुरै भएन,’ मनिकाले भक्कानिँदै भनिन् ।

उनलाई आज पनि त्यही ग्रहण लागेका दिनहरूको याद आयो । ०७५ मा १४ वर्षको उमेरमा गाउँको एकजना चिनेजानेको दिदीको पछि लागेर चितवन पसेकी थिइन् । उनै दिदीले मनिकालाई कोक फ्याक्ट्रीमा काम लगाइदिएकी हुन् । उनी भन्छिन्, ‘म गाउँको महेन्द्र शक्ति माविमा पढ्थेँ । आठ कक्षामा फेल भएँ । सँगैको साथीहरू माथिल्लो कक्षा पुगे । म लाज लागेर पढ्न गइनँ । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावैअभाव थियो । त्यसैले दुई–चार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ ।’

कोक फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको मिलनसँग भेट भयो । सँगै काम गर्ने क्रममा उनीहरू नजिकिन थाले । ‘काम गर्दै जाँदा चिनजान भयो । एक दिन, दुई दिन बोल्दै जाँदा ऊ मसँग धेरै नै नजिक हुन थाल्यो, पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो,’ उनले भनिन्, ‘म सानो मान्छे, अभावैअभावमा हुर्किएकी, घरपरिवारबाट पनि माया नपाएकी । उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो । फ्याक्ट्रीमा काम गर्ने अरू दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे, त्यसैले पनि बिहे गरेकी हुँ ।’

मनिका र मिलनले काम गर्ने कोक फ्याक्ट्रीले गत वर्ष चैतमा उनीहरूसँगै अरू थुप्रै कर्मचारीलाई कामबाट हटायो । चितवनको ठाउँ, विनाकाम दुईजना कोठामा बस्न–खान समस्या भएपछि उनीहरू वैशाख (२०८१) मा रोजगारीको खोजीमा काठमाडौँ पुगे । काठमाडौँमा मिलनले मासु पसलमा काम पायो । मनिका भने सानोतिनो कामको खोजीमा थिइन् ।

‘काम खोज्दै थिएँ, मंसिरमा बच्चा बस्यो । मेरो सोच त बच्चा नराख्ने नै थियो । उमेर पनि धेरै भाको छैन, दुईजनाको राम्रो कमाइ छैन । खाने–बस्ने ठेगान पनि थिएन,’ उनले भनिन्, ‘मिलनले भने जसरी पनि पछि पाउनु परिहाल्छ । बच्चा राख्ने भन्यो । उसैको करले बच्चा राखेँ । जसोतसो दुःख गरेर बच्चा हुर्किएला भन्ने सोचेर हामीले बच्चा राखेका थियौँ ।’ गर्भवती भएपछि मनिकालाई डेंगुको संक्रमण भयो । डेंगुले धेरै नै थलिएपछि डाक्टरले गाउँमा गएर बस्न सुझाव दिएको उनको भनाइ छ ।

‘डेंगु लागेपछि काठमाडौँ बस्न गाह्रो भयो मलाई, गजुरी जाने कुरै भएन, त्यसैले यहीँ माइतमा आएर बसेँ । मिलनलाई उतै काम गर्नु भनेर म यता आको । पछि त, ऊ पनि काम छाडेर मैसँग आयो,’ उनले भनिन् । दुवैजना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन् । बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन् ।

‘यहाँ गाउँमा खासै काम पाइन्न । बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ । त्यतिवेला मसँग मोबाइल थिएन । मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन । उता गएपछि ऊ धेरै परिवर्तन भएछ,’ त्यसपछि सुरु भएको कालो दिनको स्मरण गर्दै उनले भनिन्, ‘ऊ झापा गएपछि गाउँका दिदीहरूले तेरो बुढाले फेसबुकमा अरू केटीको फोटो हालेको छ भन्न थाले । मैले पनि अरूसँग मोबाइल मागेर हेरेँ । फोन गरेँ, तर उसले मसँग झगडा मात्र गर्न थाल्यो । मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो । मेरा लागि मर्न तयार भएको मिलन थिएन, यतिवेला अर्कै भइसकेको रहेछ । उसको चार–पाँच दिन बसाइमा हामीबिच सयपटक झगडा भए । त्यसपछि ऊ निस्केर गयो, त्यसयता उसको कुनै खबर छैन ।’

यति कुरा गर्दासम्म मनिकाको आँखा मात्र आँसुले भिजेका थिएनन्, गालामा डाम पार्दै छातीतिर गुडुल्किरहेका थिए । उनका अनुसार मिलन गएको फागुनमा आउँदा आमाले घरमा बोलाको छ भनेर निस्केका थिए । मिलन गएको केही दिनपछि मनिकाको काकी पार्वतीलाई मिलनको गाउँले भाइको फोन आयो । फोन गर्ने मान्छेले मिलनले घरमा अर्को केटी लिएर आएको खबर दिएको मनिकाले बताइन् ।

‘यहाँबाट गएपछि पहिलाको बुढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ । दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एकजना भाइबाट थाहा भयो,’ मनिकाले गहँभरि आँसु पार्दै भनिन्, ‘मेरो पेटमा उसको बच्चा छ अनि, उचाहिँ यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाएपछि म छाँगाबाट खसेजस्तै भएँ । यो सबै सुन्नेबित्तिकै म केही नसोची काकीसँग रु. १०० सापट मागेर खैरेनी पुगेँ । पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो । खैरेनीमा त्यही बेचेँ । मसँग फोन पनि थिएन, त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ । गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरेँ, तर उठेन । म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ । गजुरीमा एउटा पुलिसचौकी रहेछ । त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो । मसँग फर्किनका लागि मात्र पुग्ने पैसा थियो । पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसासमेत थिएन । पेटमा बच्चा छ, गाडीमा अरूले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ । सिक्री बेचेको पैसाले दिदी र मलाई आउन–जान मात्र ठिक्क भयो । खैरेनी आएर एकरात मामाघर बसेँ । मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ । कुकुरले नपाएको दुःख पाउनु भनेको यसलाई नै भन्छ होला है दिदी ।’ यति भनिरहँदा उनको भक्कानो फुटिसकेको थियो ।

मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे । ‘मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो । यसबिचमा मैले जे–जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘जेठ ६ गतेको डेट थियो मेरो । तर, बच्चा पाउने सुरसार भएन । ९ गते विनापैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ । बच्चा पनि ६ घण्टा अड्कियो । बल्लतल्ल बच्चा त जन्मियो । तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ । मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो । बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियूमा राख्यो । मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु । गाउँको शिव विक (दाइ) र मन्दिरा विक (भाउजू)ले सबै सहयोग गर्नुभयो । गाउँमा अरूले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेकी छु ।’

श्रीमानकाे साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन । ‘यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु ? मेरो लागि त मरिसक्यो ऊ । अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ । मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु । दुःखसुख गरेर बाबुलाई ठुलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ,’ उनले भनिन् ।

‘के बनाउने लक्ष्य छ नि बाबुलाई ?’ थोरै हाँस्दै मनिकाले भनिन्, ‘अञ्जानमा सम्बन्ध भयो, भविष्य पनि जानेको छैन त्यसैले उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु । के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस् । असल, ठुलो मान्छे होस् ।’

मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन् । ‘आमाको त केही सम्झना नै छैन । बुबा इन्डियातिर हुनुहुन्थ्यो आमा बित्दा । भाइ जम्मा दुई वर्षको थियो । म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो,’ उनले भनिन्, ‘आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो । बुबाले दोस्रो बिहे त गर्नुभएन, तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन । गाउँमा यस्तै त हो । पैसाको अभाव, फेरि बुबा बुढो हुनुहुन्छ, अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न ।’ बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदासमेत केही नभनेको मनिका सुनाउँछिन् ।

‘बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न । त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौँ । भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर । तर, बुबालाई केही मतलब हुन्न । सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला । यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला,’ गहँभरि आँसु पार्दै मनिकाले भनिन् । दुःखको रहमा पौडिएर हुर्केको अहिले झन ठुलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, ‘मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुंग्राेमा परेको माछोझैँ भयो ।’ रासस