
अदालतको अवहेलना मुद्दामा विशेष अदालतले दृष्टि अनलाइनका सञ्चालक र सम्पादकसँग धरौटी माग गरेको छ। सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई जनही २५ हजार रुपैयाँ धरौटीमा तारेखमा छाड्न आदेश दिएको हो।
उक्त साप्ताहिकमा विशेष अदालतमा सेटिङका मुद्दामा धमाधम फैसला भएको भन्ने समाचार प्रकाशित भएको थियो । विशेषका कर्मचारीहरू नवराज सापकोटा, सागर भण्डारी, यज्ञराज रेग्मी, प्रमिला काफ्ले र गरिशा भट्टराईको प्रतिवेदनका आधारमा अदालतको अवहेलना मुद्दा चलेको हो। जसमा दृष्टि न्युज अनलाइनका साथै उक्त मिडिया कम्पनी, श्रेष्ठ र सुब्बालाई प्रतिवादी बनाइएको छ।
‘...विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्वा भन्ने मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नू’ आदेशमा भनिएको छ। धरौटी वा जमानत दिन नसके विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (२)बमोजिम उनीहरूलाई थुनुवा पुर्जी दिई थुनामा राख्न भनिएको छ।
प्रकाशित सामग्रीको जिम्मेवारी सम्पादकमा रहने भनी श्रेष्ठले आफ्नो बयानमा खुलाएकाले निवेदनमा उल्लेख भएका संवाददातालाई बुझ्न नपर्ने भनिएको छ।
साथै, साक्षीलाई असार १५ गते आइतबार बिहान १० बजे बकपत्रको निम्ति उपस्थित गराउन तथा अन्तिम सुनुवाइको पेसीका दिन एमिकस क्युरी तोकी पठाउन बारलाई अनुरोध गरेको छ।
‘बकपत्र सम्पन्न भएपछि अन्तिम सुनुवाइको पेसीका दिन प्रस्तुत विषयमा अदालतको सहयोगी (एमिकस क्युरी)को रूपमा तीनजना विद्वान कानुन व्यवसायीसमेतलाई तोकी पठाइदिनू भनी विशेष अदालत बार एसोसिएसनलाई अनुरोध गरी लेखी पठाउनू,’ अदालतले भनेको छ।