१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८२ असार १२ बिहीबार ११:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनबाट आयातित सामान अब सिधै चोभार बन्दरगाहमा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार ११:३३:oo

उत्तरी नाका तातोपानी र रसुवाबाट नेपालका लागि आयात हुने मालवस्तु चिनियाँ सहरबाट सिधै काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा ल्याइने भएको छ । सामान ढुवानीका लागि चाइना रेलवे कम्पनीले प्रारम्भिक काम कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारले आयात–निर्यातलाई थप सहज र आधुनिक बनाउन निर्माण गरेको चोभार बन्दरगाहमा तातोपानीबाट दैनिक १० वटा ४० फुटे कन्टेनर सिधै चोभार आइरहेका छन् ।

आयातकर्ता व्यापारीले नेपालबाट एलसी पठाएर चीनमा खरिद गरेको सामान अब विनाझन्झट काठमाडौं आइपुग्ने भएको हो । चीनको व्यापारिक केन्द्रबाट चाइना रेलवे कम्पनीले सामान ढुवानीको जिम्मा लिनेछ । चीन सरकारले सो कम्पनीलाई यस्तो जिम्मेवारी प्रदान गरेको हो । सर्वप्रथम चिनियाँ सहरबाट रेलको डब्बाभित्र राखेर ४० फुटे कन्टेनर तिब्बतको सिगात्सेसम्म आउँछ । त्यसपछि रेलको डब्बामा रहेको कन्टेनरलाई हुक एन्ड ड्रप प्रणालीद्वारा चिनियाँ ट्रकमा जडान गरिन्छ । सिगात्सेमा अवस्थित कस्टम ड्राइपोर्टमा सो कन्टेनरलाई जिपिएससहितको स्मार्ट सिलले लक गरिन्छ । उक्त सिल चिनियाँ क्षेत्रमा भन्सार अधिकारीले ट्र्याक गरेर कन्टेनरको अवस्था नियालिरहेका हुन्छन् । तोकिएको समयभित्र तोकेको गन्तव्यमा नपुगे कारबाहीको व्यवस्था गरिएको छ । 

चाइना रेलवे कम्पनीले चिनियाँ ट्रकद्वारा ल्याएको कन्टेनर टेलर तातोपानी र रसुवाको मितेरीपुलमा आएपछि नेपाली ट्रकको टाउकोले तानेर सीधै चोभार सुक्खा बन्दरगाह ल्याउँछ । यहाँ पनि हुक एन्ड ड्रप प्रणाली लागू हुन्छ । सिँगात्सेबाट छुटेको लामो टेलर बोकेको चिनियाँ ट्रक पनि सीधै चोभार बन्दरगाह आउन सक्छ । तर, चिनियाँ नम्बर प्लेटको ट्रक नेपालमा ७२ घण्टा मात्रै बस्न पाउँछ । ७२ घण्टा बस्दा १५ सय रुपैयाँ नेपाल सरकारलाई तिर्नुपर्छ । सिगात्सेबाट जिपिएस जडान गरेको स्मार्ट सिल नेपाल– चीन सीमासम्मका लागि मात्र हो । नेपालमा प्रवेश गरेका कन्टेनरमा तातोपानी र रसुवा भन्सारले नयाँ स्मार्ट सिल जडान गर्छन् । तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले नेपाल–चीन आयात–निर्यातलाई दुवै सरकारले समयानुकूल आधुनिक बनाउन लागेको बताए । चाइना रेलवेले विभिन्न नेपाली ट्रान्सपोर्ट कम्पनीसँग सम्झौता गरेर तातोपानीबाट काठमाडौंसम्म नेपाली नम्बर प्लेटको ट्रकले  सामान ढुवानी गर्नेछन् । नमस्ते, सिल्क, रेवाङ, सिकाडलगायत ट्रान्सपोर्ट कम्पनीसँग चिनियाँ टेलर तान्ने ट्रकको टाउका छन् । ‘तातोपानी भन्सारमा आएपछि हामीले स्मार्ट सिल जडान गरेर ट्रान्जिट डिक्लियर गर्छाैँ,’ काफ्लेले भने, ‘हामीले लगाएको स्मार्ट सिललाई चोभार सुक्खा बन्दरगाहले ट्र्याक गरिरहेको हुन्छ ।’ 

चाइना रेलवे कम्पनीले ढुवानीको जिम्मेवारी लिएसँगै चिनियाँ क्षेत्रमा गुड्ने परम्परागत कन्टेनर पनि स्वत: बिस्तारै हट्ने भएका छन् । यता नेपालतर्फ तातोपानी र रसुवामा ढुवानी गर्दै आएका एक हजारभन्दा बढी २० र २४ फुटे कन्टेनर विस्थापित हुने अवस्था हुन्छ । दुवै नाकामा सामान लोड–अनलोड गर्ने एक हजार मजदुरको पनि रोजीरोटी खोसिनेछ । नेपाल भन्सार तथा विमानस्थलसम्बद्ध श्रमिक संघका ६ सय ४० मजदुर र ट्रक कन्टेनर व्यवसायीले चिनियाँ ४० फुटे टेलर सीधै चोभार ल्याउँदा रोजीरोटी गुम्ने भएकाले विरोध जनाएका छन् । ट्रक कन्टेनर ढुवानी सेवाका अर्जुन सापकोटाले तातोपानी नाकामा मजदुरहरूको विरोधको कार्यक्रम १८ गते बस्ने बैठकले तय गर्ने बताए । कोदारी र अरनिको सडकको जीर्ण अवस्थाले कन्टेनर बोकेको ४० फुटे टेलर काठमाडौं आउँदा धेरै जोखिम मोल्नुपर्ने हुन्छ । यद्यपि, चीनबाट सीधै चोभार बन्दरगाहमा सामान झार्दा ढुवानी मूल्य ५०–६० हजार कम लाग्छ, धेरै ठाउँमा सामान पल्टी गर्ने झन्झट हट्छ  ।