१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
स्कटल्यान्डमा सम्पन्न आइसिसी विश्वकप लिग २ र त्रिकोणात्मक टी–२० सिरिज खेलेर फर्किएको नेपाली टोली ।
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ९ सोमबार o७:o५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानडा टी–२० विश्वकपमा छनोट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार o७:o५:oo

क्यानडा अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा दोस्रोपटक छनोट भएको छ । अमेरिकन क्षेत्रीय छनोटमा लगातार पाँच खेलमा जित निकाली क्यानडाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । क्यानडा छनोट भएसँगै टी–२० विश्वकप खेल्ने १३ राष्ट्रको टुंगो लागेको छ । 

गत वर्षको आइसिसी टी–२० विश्वकपमा सुपर एटमा स्थान बनाएको अमेरिका स्वतः छनोट भइसकेको थियो । यसअघि नै अमेरिका विश्वकपमा छनोट भएकाले अमेरिकन क्षेत्रीय छनोटमा क्यानडालाई सहज भएको हो । छनोटअन्तर्गत आइतबार भएको खेलमा क्यानडाले बहामसलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । बहमासलाई ५७ रनमा अलआउट गरेको क्यानडाले ५.३ ओभेरमै लक्ष्य भेट्टाएको थियो ।

सन् २०२६ को विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । आयोजक भारत र श्रीलंकासँगै अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले विश्वकपमा स्थान पक्का गरेका छन् । वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका हुन् ।

सात राष्ट्र छनोट हुन बाँकी
विश्वकपमा १३ राष्ट्रको टुंगो लाग्दा अब सात राष्ट्र बाँकी छन् । यी सात राष्ट्रले छनोट चरणको माध्यमबाट विश्वकपमा टिकट काट्नेछन् । विश्वकपअन्तर्गत आगामी ५ देखि ११ जुलाईसम्म युरोपमा छनोट खेल सुरु हुनेछ । युरोपबाट दुई राष्ट्र विश्वकपमा पुग्नेछन् । १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने अफ्रिका छनोटबाट दुई राष्ट्र छानिनेछन् । १ देखि १७ अक्टोबरसम्म ओमानमा हुने एसिया इएपी छनोटबाट तीन राष्ट्रले टी–२० विश्वकप खेल्नेछन् ।

एसियन छनोटमा नेपालले पनि सहभागिता जनाउँदै छ । नेपाल तेस्रोपटक विश्वकप खेल्ने योजनाका साथ तयारीमा छ । ओमानको छनोट प्रतियोगितामा शीर्ष तीनभित्र अटाउन सके नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्नेछ । गत वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपमा नेपाल टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो ।  

एसियन छनोटमा नेपालसहित थप आठ राष्ट्र छन् । नेपालसँगै पपुवा न्युगिनी, सामोआ, कुवेत, मलेसिया, जापान र युएईले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल र पपुवा न्युगिनीले सन् २०२४ को टी–२० विश्वकप खेलेका कारण सिधै छनोटमा प्रवेश गरेका हुन् । यसपटक आइसिसीले एसिया, युरोप, अफ्रिका, पूर्वी एसिया प्यासिफिक र अफ्रिकालाई समेटेर एसिया इएपी छनोट गराएको हो । 

अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकपमा अहिलेसम्म १३ राष्ट्रको टुंगो लागेको छ । नेपालले ओमानमा १ देखि १७ अक्टोबरसम्म हुने एसियन क्वालिफायर खेल्नेछ । शीर्ष तीन टोली विश्वकपमा पुग्नेछन् ।
 

स्कटल्यान्डमा सम्पन्न आइसिसी विश्वकप लिग २ र त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली पुरुष टोली आइतबार स्वदेश फर्किएको छ । नेपालले विश्वकप लिग २ मा आठमध्ये ६ अंक बटुलेको थियो । टी–२० आई सिरिजमा नेपालले समान दुई जित र हारको सामना गरेको थियो । रनरेटमा पछि पर्दा नेपाल टी–२० आई सिरिजमा च्याम्पियन बन्न सकेन । सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदा नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको विजेता बन्ने थियो । 

समग्रमा स्कटल्यान्डमा पाँच जित निकालेको नेपाली टोलीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंह र क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । उनले अब नोभेम्बरमा वेस्ट इन्डिजसँग हुने खेलका लागि तयारीमा जुट्ने बताए । स्कटल्यान्डको नतिजाले टोलीको मनोबल उच्च भएको उनको ठहर छ । ‘समग्रमा स्कटल्यान्ड र नेदरल्यान्ड्सजस्तो बलियो राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गरौँ,’ रोहित पौडेलले भने, ‘अबको लक्ष्य भनेको वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि राम्रो तयारी गर्ने हो ।’ उनले स्कटल्यान्ड जानुअघि बेलायतमा भएको अभ्यासले सहयोग गरेको बताए । 

स्कटल्यान्डमा राम्रो नतिजा निकाल्यौँ
 रोहित पौडेल, कप्तान, नेपाल

स्कटल्यान्डको कन्डिसनमा उत्कृष्ट प्रदर्शन गर्नु त्यति सजिलो थिएन । हामीले त्यहाँ एकदमै राम्रो क्रिकेट खेल्यौँ । बेलायतको १० दिनको अभ्यासले सहज बनाएजस्तो लाग्छ । यसपटक सबै खेलाडीले आफ्नो जिम्मेवारी निर्वाह गरेजस्तो लाग्छ । विश्वकप लिग २ मा चारमध्ये तीन खेल जित्नु सजिलो होइन । आउने सिरिजका लागि हामी तयार छौँ । 

ब्याटिङमा पावर पुगेन 
 नन्दन यादव, खेलाडी, नेपाल 

नेदरल्यान्ड्ससँगको पहिलो टी–२० आईको अन्तिम बलमा पावर पुगेन । सम्भवतः अन्तिम बलमा छक्का हिर्काउने प्रयास गरेको थिएँ, तर पावर कम हुँदा चौका मात्र भयो । छक्का गएको भए जित्थ्यौँ होला । मेरो हात त्यस्तो राम्रो थिएन । त्यसवेला नेपाललाई जिताउनुपर्ने दबाब थियो । त्यहीँ दबाबबिच विनिङ सट प्रहार गरेको थिएँ, तर चौका मात्र भयो ।