१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १o:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फरक मत राख्ने वडाध्यक्षको तलबभत्ता रोक्का

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १o:५o:oo

उदयपुरको चौदण्डीगढी नगरपालिकाको कार्यपालिका बैठकमा र नगर प्रमुखको कार्यशैलीको विरोध गर्ने वडा अध्यक्षको मासिक सेवा–सुविधा रोक्का भएको छ । नगरपालिकाको १२औँ नगर कार्यपालिका बैठकले चौदण्डीगढी नगरपालिका– ७ का वडाध्यक्ष केशव अधिकारीको मासिक सेवा–सुविधा रोक्ने निर्णय गरेको हो । 

नगरपालिकाको २१ वैशाख ०८२ मा बसेको कार्यपालिकाको बैठकको निर्णयमा भनिएको छ, ‘निज केशव अधिकारीले वडाध्यक्षको पदीय जिम्मेवारी निर्वाह नगरी विगत वर्षहरूदेखि नै नगरपालिकासँग प्रचलित कानुनको पालना नगर्ने, ७ नम्वर वडाभित्र रहेर पनि विनाकारण वडासदस्यहरूलाई कार्यवाहकको जिम्मेवारी दिने, सोको जानकारीसमेत नगरपालिकाको कार्यालयलाई नदिने, नगरपालिकाकाले निमन्त्रणा गरेको कार्यपालिका बैठकमा, नगरसभा बैठक तथा अन्य कुनै पनि बैठकमा सहभागी नहुने देखिएकाले सो सम्बन्धमा कार्यपालिका बैठकको निर्णयाअनुसार उक्त विषयहरूमा जिम्मेवार हुनका लागि निर्देशन दिने, साथै निजले नगरपालिकाको कार्यालयबाट मासिक रूपमा भुक्तानी लिँदै आएको सेवा–सुविधा अर्को व्यवस्था नभएसम्मका लागि रोक्का राख्नको लागि आर्थिक प्रशासन शाखालाई जानकारी गराउने र आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमका लागि वडालाई उपलब्ध गराउने बजेट सिलिङको परिधिभित्र रही उदयराज भुजेल, तिलवती राई तथा ७ नम्बर वडाका वडासदस्यहरू राजेश श्रेष्ठसँग समन्वय गरी बजेट तथा कार्यक्रम तर्जुमा गराई पेस गर्ने लगाउने निर्णय गरियो ।’

वडाध्यक्ष अधिकारीले सोमबार बिहान नयाँ पत्रिकासँग कुरा गर्दै  अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको र नगर प्रमुख कालुमान लामाले आफन्त प्रयोग गरेर ढुंगा, गिटी, बालुवा र माटो बिक्री गरी राजस्व छली गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा दिएको बताए । उनले भने, ‘मैले नगरपालिकाबाट वडाध्यक्षको सेवा–सुविधा गएको वैशाखदेखि पाएकै थिइनँ । अनि कारण खोज्दै जाँदा कार्यपालिकाको बैठकबाट निर्णय गरेर रोकिएको रहेछ । अब अदालतमा न्याय माग्न जाने तयारीमा छु ।’

अधिकारीले आज (सोमबार) कार्यपालिकाको बैठक बस्ने जानकारी पाएकाले कार्यपालिकाकै बैठकमा गएर आफ्नाे कुरा राख्ने तयारी गरेको पनि बताए । उनले भने, ‘आजको कार्यपालिकाको बैठकको जानकारी फेसबुकबाट थाहा पाएको छु । बोलाइएको छैन, तर जान्छु । वडाको सबै काम म आफैँ गर्दै आएको छु ।’

चौदण्डीगढी नगरपालिकाको २ र ४ मा पर्ने लामाखोला र माडीबास खोलामा अवैध रूपमा नगरप्रमुखकै सेटिङमा ढुंगा, गिटी, बालुवा र माटोको उत्खनन भएको भन्दै वडाध्यक्ष अधिकारीले विरोध गरेका थिए । नगरप्रमुख कालुमान लामाको सेटिङमा अवैध उत्खनन भएको भनी परेको उजुरीका आधारमा आयोगको इटहरी कार्यालयमा उजुरीसमेत दिएका थिए ।

अहिले छानबिनको प्रक्रियामा रहेको जानकारी पाएको अधिकारीको भनाइ छ । उनले त्यही अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा १९ वैशाख २०८२ मा ज्ञापनपत्र बुझाउँदा नगरप्रमुखको कार्यशैलीको चर्को विरोध गरेका थिए । उत्खनन पीडित स्थानीयले समेत वडाध्यक्ष अधिकारीलाई साथ दिएका थिए । चौदण्डी नगरपालिकामा नेकपा एमालेको बहुमत जनप्रतिनिधि छन् । त्यसमा वडाध्यक्ष अधिकारी पनि एमालेबाटै निर्वाचित वडाध्यक्ष हुन् ।