१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
अपूर्वानन्द
२o८२ असार ८ आइतबार o८:o२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इरानमाथिको आक्रमण सभ्यताको उपहास

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार o८:o२:oo

परमाणु बमयुक्त इजरायलले परमाणु बम नै नबनाएको इरानलाई खतराका रूपमा देख्नु उदेकलाग्दो छ

सारा विश्व एक अविश्वसनीय दृश्य देखिरहेको छ । अब वास्तविकता पूर्णरूपमा उघारिएको छ । विश्वमा कूटनीति नामको कुनै चिज छैन भन्दा हुन्छ । जे छ, त्यो हो गुन्डागर्दी र अस्त्रबल । अन्तर्राष्ट्रिय नियम, कानुन र सिद्धान्तको कुनै मूल्य छैन । यदि केही बलशाली गुन्डा, जसलाई ‘राष्ट्र’को नाम दिइएको छ, ती एकसाथ आउँछन् भने तिनले जसलाई चाह्यो, त्यसलाई घेरेर मार्न सक्छन् । अर्को अविश्वसनीय दृश्य भनेको विश्वकै शक्तिशाली मानिने अमेरिका अहिले इजरायलको प्रभावमा छ र इजरायलले उसलाई आफ्नो इच्छाअनुसार नचाइरहेको छ । धेरै अमेरिकी विशेषज्ञले अमेरिकाको विदेश नीति अब अमेरिकाले नभई इजरायलले तय गर्छ भनेर पहिले नै भनेका थिए । 

इजरायलले अचानक इरानमाथि हमला गर्दै सामरिक केन्द्रमा आक्रमण गरेको छ र खामेनीका निकट सहयोगीलाई तारो बनाई हत्या गरिसकेको छ । अहिले इजरायलले खामेनीलाई मार्ने धम्की दिँदै सत्ता परिवर्तनको आह्वान गरिरहेको छ । र, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूलाई इरानी जनताको उद्धारकर्ताका रूपमा प्रस्तुत गर्दै विनाशलाई नै भलाइका रूपमा चित्रित गर्न खोजिरहेका छन् ।

अमेरिका अझै खुला रूपमा इजरायलको युद्धमा सहभागी नभए पनि नेतन्याहु इरानले ट्रम्पलाई निसाना बनाउन सक्छ भन्दै ट्रम्पलाई लगातार उकासिरहेका छन् । इजरायल एक्लैले इरानलाई हराउन नसक्ने हुँदा इजरायल ट्रम्पलाई युद्धमा सहभागी हुन दबाब दिँदै छ । इजरायलले युरोप र अमेरिकालाई यो हमला आत्मरक्षाका लागि भएको भन्दै सम्झाइरहेको छ, र यी शक्ति इजरायलका कुरा सुनिरहेका छन् । 

इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीले ट्रम्पलाई चाकरीपूर्ण पत्र लेख्दै उनलाई ईश्वर चयनित नेताको संज्ञा दिएका छन् । राजदूतले ट्रम्पले ट्रुम्यानले झैँ इरानमा पनि कठोर कदम चाल्नुपर्ने सन्देश दिएका थिए । स्मरण रहोस्, ट्रुम्यानकै कार्यकालमा अमेरिकाले हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । र, ट्रम्पले सो पत्र सार्वजनिकसमेत गरेका छन् । जब इजरायल बिनाउक्साहट इरानमा बमबारी गरिरहेको छ, त्यसवेला इजरायलको संरक्षक राष्ट्र अमेरिकाका राष्ट्रपति रहस्यमयी शैलीमा ‘कसैलाई थाहा छैन, म के सोचिरहेको छु’ भन्छन् । ट्रम्प एक साताअगाडि जे भनिरहेका थिए, अहिले त्यसको उल्टो भनिरहेका छन् । यसअघि उनले अमेरिका र इरानबिच वार्ता सहज ढंगले चलिरहेको बताएका थिए । तर, त्यही वार्तामा सहभागी हुने इरानी अधिकारीलाई इजरायलले मार्छ र अमेरिकी राष्ट्रपति ताली बजाउँदै ल त्यो मारियो भन्छन् । एक सार्वभौम राष्ट्रका प्रमुख अर्थात् आयतोल्लाह खामेनीलाई आफूले मार्न सक्ने तर अहिले नमार्ने भन्दै ट्रम्प धम्की दिइरहेका छन् । इरान आफ्नो अस्तित्वका लागि खतरा हो भन्दै इजरायलले आक्रमण गरेको छ । तर, उदेकलाग्दो के छ भने इजरायल जससँग परमाणु बम छ, उसले इरान जसले परमाणु बम बनाएको पनि छैन, त्यसलाई खतराका रूपमा देख्छ । आफूलाई सभ्यताका ठेकेदार भन्ने फ्रान्स, जर्मनी, बेलायतजस्ता मुलुक इरानविरुद्ध कोकोहोलो मच्चाइरहेका छन् । परमाणु बम भएको मुलुक आफू असुरक्षित रहेको बताउँदै अर्को परमाणु हतियारविहीन देशमा आक्रमण गरिरहेको छ । यदि त्यो परमाणु बमले पनि देशलाई सुरक्षा दिन सक्दैन भने त्यसको अर्थ के हो ?

क्यानडामा विश्वका सबैभन्दा शक्तिशाली मुलुकका प्रमुख जी ७ सम्मेलनका लागि जम्मा हुन्छन्, तर त्यो सम्मेलनभन्दा बढी रमिता प्रदर्शनजस्तो देखिन्छ । यी रमिता खतरनाक छन्, किनभने तिनकै हातमा विश्वको सम्पूर्ण शक्ति केन्द्रित छ । अमेरिकाको राष्ट्रपति जी ७ सम्मेलन छाडेर उठ्छन् र ‘म केही ‘ठुलो’ गर्न वासिंटन फर्किंदै छु’ भन्दै हिँड्छन् । त्यो ‘ठुलो’ के हो भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्प ‘म के सोचिरहेको छु, त्यो कसैले जान्न सक्दैन’ भन्दै डिङ हाँक्छन् । यस क्रममा पत्रकारहरू केही महिनाअघि अमेरिकी गुप्तचर प्रमुख तुलसी गबर्डले इरानसँग परमाणु बम बनाउने क्षमता छैन भनेको भनाइलाई उद्धृत गर्दै अब अमेरिकाले किन अडान फेरेको भनेर प्रश्न गर्छन् । राष्ट्रपति ट्रम्प ‘मलाई रत्तिभर मतलब छैन, उनले के भनिन् । यथार्थमा अहिले मेरो मनमा जे आउँछ, म त्यही गर्छु’ भन्ने जवाफ फर्काउँछन् । अमेरिकी नागरिक युद्धको निर्णय त केवल संसद्ले गर्न सक्छ भनेर बारम्बार भनिरहेका छन्, तर राष्ट्रपति ट्रम्पचाहिँ ‘मसँग त्यस्ता नियम–प्रक्रियाका लागि समय छैन’ भन्छन् ।

फ्रान्स, बेलायत, इटली, जापान, अमेरिका, क्यानडा, युरोपियन युनियनका प्रमुखको आपसी हाँसोठट्टा र फोटोसेसन भइरहेको क्यानडाको त्यो विद्रुप दृश्य हेरौँ त ! ती सबै व्यापारिक स्वार्थका लागि जुटेका छन्, तर मानवता बचाउने उपायको ढोङ रच्दै छन् । भविष्यमा जब कसैले ती तस्बिर हेर्नेछन्, तब उसले त्यतिखेर यिनै मुलुकको एक ‘पिट्ठु’ संसारको एउटा हिस्सामा ध्वंस मच्चाइरहेको र गाजामा हरेक दिन सयौँ प्यालेस्टिनीको हत्या गरिरहेको सम्झिनेछ । 

विश्वमा नेतृत्वको अभाव छ भन्नेमा हामी निकै दुःखी छौँ । यद्यपि, यस अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध भन्ने चिज मिथ्या हो, भन्ने प्रस्ट पारेका कारण हामीले ट्रम्पलाई भने धन्यवाद दिनुपर्छ । वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्ध पृथ्वीको सम्पत्ति बाँडफाँट गर्न बाहुबलीबिचको सम्झौता मात्र हो । २०औँ शताब्दीको पूर्वाद्र्ध अझै समाप्त भएको देखिँदैन । अर्थात्, यी बाहुबलीले त्यतिखेर मध्यपूर्वलाई बाँडिरहेका थिए, अहिले फेरि बाँडिरहेका छन् । वास्तवमा उपनिवेशवाद अझै जारी छ ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा प्राध्यापन गर्छन्) 
द वायरबाट

छुटाउनुभयो की ?