१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार o९:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली क्लबले पाएनन् लाइसेन्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार o९:o७:oo
  • क्लब लाइसेन्स नभएका कारण नेपालका ‘ए’ डिभिजन क्लबले यस सिजनमा एएफसीले आयोजना गर्नेे प्रतियोगिता खेल्न नपाउने

नेपालका कुनै पनि क्लबले एएफसी क्लब लाइसेन्स पाउन सकेनन् । क्लब लाइसेन्स नहुँदा एसियन फुटबल महासंघ (एएफसी)ले सन् २०२५/२६ को सिजनमा आयोजना गर्ने कुनै पनि क्लबस्तरीय प्रतियोगितामा नेपालका क्लबले खेल्न पाउनेछैनन् । एएफसीको आयोजनामा हुने क्लबस्तरीय प्रतियोगितामा सहभागी हुन क्लब लाइसेन्स अनिवार्य रूपमा बनाएको छ । यसको अर्थ नयाँ सिजनमा अब नेपालको सहभागिता शून्य रहनेछ ।

नेपालबाहेक पाकिस्तान र श्रीलंकन क्लबले पनि क्लब लाइसेन्स पाएनन् । एएफसीले शुक्रबार सार्वजनिक गरेको दक्षिण एसियामा क्लब लाइसेन्स पाएका क्लबहरूको नाम सार्वजनिक गरेको छ । जसमा यी तीनवटै राष्ट्रको नाम छैन । दक्षिण एसियाबाट भुटानका चार क्लबले लाइसेन्स पाएका छन् । भुटानका यी क्लबले अब च्यालेन्ज लिग खेल्न अवसर पाएका छन् । बंगलादेशबाट पनि च्यालेन्ज लिगका लागि दुई क्लबले क्लब लाइसेन्स पाएको एएफसीले जनाएको छ । माल्दिभ्सबाट एक क्लबले च्यालेन्ज लिगका लागि क्लब लाइसेन्स पाएको छ । दक्षिण एसियामा भारतका आठ क्लबले एएफसी च्याम्पियन्स लिग एलिट र २ का लागि क्लब लाइसेन्स प्राप्त गरेका छन् । 

क्लबले पूरा गरेन एएफसीको मापदण्ड
एएफसीबाट क्लब लाइसेन्स प्राप्त गर्न विभिन्न आवश्यकीय मापदण्ड पूरा गर्नुपर्छ । यी सबै मापदण्ड पूरा गरेका खण्डमा मात्र एएफसीले ती क्लबलाई क्लब लाइसेन्स दिने गर्छ । एएफसीका अनुसार शीर्ष डिभिजनको लिग, क्लबको आफ्नै खेलमैदान, प्रशिक्षण मैदान र एकेडेमी हुनुपर्छ । तर, नेपालका अधिकांश ‘ए’ डिभिजन क्लबले एएफसीले दिएको मापदण्ड पूरा गर्न सकेनन् । उनीहरूसँग घरेलु मैदानदेखि एकेडेमी पनि छैनन् । अझ नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षदेखि ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता नै आयोजना गर्न सकेको छैन । दुई वर्षदेखि ‘ए’ डिभिजन लिगको विजेताका रूपमा चर्च ब्वाइज रहेको छ ।

डेढ महिनाअघि मात्र एन्फाले बल्ल ‘ए’ डिभिजन लिग आयोजना गरेको थियो । ‘बी’ डिभिजन लिग आयोजना गर्न पनि एन्फाले धेरै समय लगाएको थियो । एन्फाले यसअघि दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सलाई क्लबहरूको घरेलु मैदानका रूपमा राख्दै एएफसीमा क्लब लाइसेन्स लिन सिफारिस गर्दै आएको थियो । तर, यसपटक एएफसीले एन्फाको यो प्रस्ताव मान्न तयार भएन । यसै कारण यसपटक नेपालका ‘ए’ डिभिजन क्लब लाइसेन्सविहीन भएका छन् ।

च्यालेन्ज कपमा नेपाली क्लब नहुने
एएफसीले सन् २०२४/२०२५ मा चर्च ब्वाइज युनाइटेडलाई लाइसेन्स दिएको थियो । चर्च ब्वाइजले एएफसी च्यालेन्ज कपको पहिलो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पायो । गत वर्ष दशरथ रंगशालामा भएको छनोटमा चर्च ब्वाइजले भुटानको पारो एएफसीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यद्यपि, रंगशाला हिलाम्मे हुँदा सर्वत्र यसको विरोध भएको थियो । पारो एएफसीले नेपालको चर्च ब्वाइजलाई २–१ ले हराएको थियो । सन् २०२३/०२४ मा त्रिभुवन आर्मी, एपिएफसँगै मच्छिन्द्र फुटबल क्लबले लाइसेन्स पाएका थिए । यसपटक क्लब लाइसेन्स नहुँदा नेपालका कुनै पनि क्लब एएफसी च्यालेन्ज कपमा हुनेछैनन् । एएफसीले एएफसी च्याम्पियन्स लिग एलिट र टुका साथै एएफसी च्यालेन्ज लिगका लागि समेत क्लब लाइसेन्स अनिवार्य बनाएको छ । 

दुई वर्षदेखि ‘ए’ डिभिजन लिगविहीन
फुटबलको मुख्य मेरुदण्ड ‘ए’ डिभिजन लिग मानिन्छ । तर, नेपालमा यो नभएको दुई वर्ष भइसकेको छ । एन्फा र क्लबबिचको आन्तरिक विवादका कारण शीर्ष डिभिजनको लिग हुन सकेको छैन । लिग आयोजना गर्न नसक्दा एन्फाले गत वैशाखमा एन्फा कप नकआउट आयोजनाको आवधारणा सार्वजनिक गरेको थियो । एन्फाले यसै एन्फा कपको विजेतालाई एएफसी च्यालेन्ज कपमा पठाउने निर्णय गरेको थियो । तर, क्लबहरूले सहभागिता नजनाउने भएपछि एन्फाले प्रतियोतिगा नै आयोजना गर्न सकेन ।