१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रमा सडक अवरुद्ध भएपछि फसेका गाडी
Invalid date format o६:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बुटवल–नारायणगढ सडक हरेक दिन अवरुद्ध

विनयी खोलामा नयाँ पुल २३ जेठमा निर्माण सम्पन्न भए पनि १४ असारमा मात्र सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५१:oo

मनसुन सक्रिय भएसँगै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड हरेक दिन अवरुद्ध हुन थालेपछि प्रहरी प्रशासनले वैकल्पिक रुटबाट सवारीसाधन चलाउन सुझाएका छन् । नवलपरासीको दाउन्ने र दुम्कीबास क्षेत्रमा पछिल्ला चारै दिन सडक अवरुद्ध हुने र खुल्ने भइरहेको छ । बिहीबार साँझ केही समय यातायात सञ्चालनमा आए पनि रातिबाट फेरि अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (पूर्व)का प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । विनयी खोलामा बस फसेपछि बिहीबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो भने दाउन्नेमा हिलो र चिप्लो भएपछि शुक्रबार बिहानदेखि अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालले तत्काल सडक खुल्ने अवस्था नरहेको बताए । ‘विनयी खोलामा पानीको वहाब घटेको छैन । त्यही भएर डाइभर्सन बनाउन सकिएको छैन,’ उनले भने, ‘दाउन्नेमा पनि बाटो हिलो र चिप्लो छ । गाडी उकालोमा उक्लन सक्ने अवस्था छैन ।’ 

निर्माणाधीन सडक हरेक दिन अवरुद्ध हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सूचना नै जारी गरी ११३ किलोमिटर दूरीको बुटवल–नारायणगढ सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ । विनयी खोलामा नयाँ पुल २३ जेठमा निर्माण सम्पन्न भए पनि १४ असारमा मात्र सञ्चालनमा आउनेछ । तैपनि दाउन्नेखण्ड सहज नभएकाले यो बर्खाभर नै यात्रा सहज हुनेछैन । 

कालीगण्डकी करिडोरमा पनि समस्या 
बुटवल–नारायणगढ सडकखण्ड लगातार बन्द भएपछि वैकल्पिक मार्गका रूपमा चलाइएको कालीगण्डकी करिडोरमा पनि समस्या आउन थालेको छ । गैँडाकोटदेखि पाल्पाको रामपुर हुँदै बुटवलसम्म पुग्न सहज हुने बाटो कालीगण्डकी करिडोरमा पनि सडक अवरुद्ध हुन थालेको छ । गैँडाकोटमा पर्ने तरंगे खोलामा बिहीबार राति चार घण्टा सडक अवरुद्ध भएको स्थानीय यमबहादुर श्रेष्ठले बताए । सवारीसाधन जाममा पर्न थालेका छन् । 

विनयी खोलामा मध्यराति बस फस्यो, यात्रुको सकुशल उद्धार
नारायणगढ–बुटवल खण्डको नवलपरासीको विनयी खोलाको पुल गत पुसमा भासिँदा डाइभर्सन गरेर गाडी गुडाइँदै आएको छ । बुधबार राति बगाएको डाइभर्सन बिहीबार बनाएर यातायात नियमित गरिएको थियो । तर, काठमाडौंबाट दाङका लागि छुटेको भे.१ख ४०८५ नम्बरको बस बिहीबार राति ११ बजेतिर खोलामा फस्यो ।

खोलाको बिचभागमा फसेको बसका ३८ यात्रुलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले डेढ घण्टा लगाएर सुकुशल उद्धार गरेको छ । जेसिबीको बकेटमा राखेर र क्रेनबाट यात्रुलाई खोला पार गराइएको नवलपरासी (पूर्व) का प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । उद्धारको करिब १० मिनेटमा बस खोलाले बगाएको थियो । खोलाले बगाएको बस शुक्रबार बिहान पाँच सय मिटर तल फेला परेको छ । 

बिपी राजमार्गमा राति गाडी गुडाउन रोक 
बिपी राजमार्गमा १५ दिन राति सवारीसाधन चलाउन रोक लगाइएको छ । शनिबारबाट लागू हुने गरी साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीको अन्तरजिल्ला समन्वय समितिको शुक्रबारको बैठकले बाढीपहिरोको जोखिमलाई मध्यनजर गरी सवारी चलाउन रोक लगाएको हो । ‘मनसुन सक्रिय छ, वर्षाका कारण विपत्को अवस्था आउन सक्ने जोखिम रहेकाले बिपी राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड रातिका लागि बन्द गरिएको हो,’ उनले भने । भोटेकोशी, सुनकोशी र रोशी नदीमा पानीको बहाव बढिरहेको छ । गत वर्ष मध्यअसोजको बाढीले बिपी राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक क्षति गरेको थियो । नौ किलोमिटर सडक बगेको छ ।