१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार ६ शुक्रबार १५:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रणजोर खोलाको बाढीले सय रोपनी खेत बगरमा परिणत

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १५:५४:oo

रामेछापको मन्थली नगरपालिका– १ स्थित रणजोर खोलामा बिहीबार साँझ आएको बाढीले छिनभरमै सय रोपनीभन्दा बढी खेत बगरमा परिणत गरेको छ।

रणजोर खोलाको बाढी मन्थली नगरपालिका– १, चुकाहास्थित बिर्ताको कुलोबाट पसेर सोही वडाको सुकाजोर खोलामा निस्किएको थियो। रणजोर र सुकाजोर खोलाबिचमा रहेको सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको हो। खोला पसेको क्षेत्रमा करिब एक हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन छ। खेतमा खोला पस्दा किसानले पाक्न लागेको मकै बालीसमेत भित्र्याउन पाएनन्।

बाढीले किसानको लाखौँ मूल्यबराबरको मकै बाली त नोक्सान गर्‍याे नै धान रोपाइँका लागि राखेको धानको ब्याडसमेत बगाएको छ। ‘खेतमा न मकै छ न रोप्न राखेको धानको ब्याड नै छ,’ मन्थली– १ का रामबाबु थापाले दुःखेसो पोखे, ‘खेतीयोग्य जमिन जोगाउन खोलामा बाँध बाध्न स्थानीय निकायसँग पटकपटक हारगुहार गर्‍याैँ। कहिले जिल्ला विपत् व्यवस्थापन समिति, कहिले वडा त कहिले नगरपालिकासम्म धायौँ। हाम्रो कुरा कहीँ सुनुवाइ  भएन।’

समयमा वर्षा नहुँदा किसानले जेनेरेटरमार्फत तामाकोशी नदीको पानी तानेर धानको ब्याड राखेका थिए। किसानले प्रतिघण्टा २५० देखि ४ सय रुपैयाँसम्म तिरेर पानी तानीराखेको ब्याडसमेत खोलाले बगाएपछि किसान झनै चिन्तित बनेका हुन्।

यस वर्ष मात्रै वैशाख र असार ५ गते गरी दुुईपटक बाढी खेतमा पसिसक्यो। ठुलो वर्षा हुन बाँकी नै छ। यदि ठुलो वर्षा हुनु अगावै रणजोर खोलाको दुवै छेउमा बाँध नबाँध्ने हो भने यो वर्ष सबै खेत बगर हुने निश्चित रहेको स्थानीय किसान भूपाल थापाले बताए। उनले भने, ‘स्थानीय निकायले पनि खोला संरक्षणका लागि ध्यान दिएन। प्रदेश र संघका जनप्रतिनिधिहरूले पनि किसानको मागलाई सुनुवाइ गरेनन्।’ जनप्रतिनिधिहरूले जहाँ कमिशन आउँछ, त्यहाँ मात्रै बजेट विनियोजन गर्ने गर्दा किसानका समस्या बर्सेनि ज्युँका त्युँ रहेको थापाले बताए।

गएको वर्ष पनि रणजोर खोलाले धेरै किसानको खेत कटान गर्नुको साथै पाकेको अन्नबाली बगाएको थियो। खोलाले खेतीयोग्य जमिन कटान गरेपछि स्थानीय किसान तटबन्धनको माग गर्दै जिल्ला विपत् व्यवस्थापन समितिसम्म पुुगेका थिए। ‘व्यवस्थापन समितिले दशवटा जाली दिएर पठायो। त्यति जाली कुन ठाउँमा लगाउनुु ?’ थापाले भने।

गएको दुुई आर्थिक वर्ष लगातार जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालयले रणजोर खोलाको पक्की मोटरेबल पुलबाट केही तलसम्म दुवैतर्फ बाँध बाँधेर त्यसमुनिको क्षेत्रमा त्यत्तिकै छोडिदिँदा खोला खेतमा पसेको हो। रणजोर खोलाले कटान गर्दै जाँदा मन्थली घाटमा रहेको झोलुुंगे पुल र सो आसपासको बस्तीसमेत जोखिममा छ।