
ताप्लेजुङमा करदाता शिक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । जिल्लाका व्यापारीहरूलाई कर शिक्षा तथा आर्थिक विधेयकसम्बन्धी जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
करदाता कार्यालय फिदिमको आयोजना तथा उद्योग वाणिज्य संघ ताप्लेजुङको सहकार्यमा व्यापारीले कसरी कर कार्यालयमा दर्ता हुने, कर बुझाउँदा के–के कुरामा ध्यान दिनेलगायतका विषयमा कार्यालय प्रमुख बद्रीप्रसाद भेटवालले संक्षेपमा जानकारी गराए ।
प्रमुख भेटवालले कर भनेको के हो ? यो कसरी सरकारलाई बुझाउनुपर्छ ? भन्ने विषयमा जानकारी गराउँदै उठेको कर कुन–कुन क्षेत्रमा खर्च गरिन्छ भन्ने विषयसमेतलाई प्रस्ट्याएका थिए । उनले सबै व्यवसायीलाई करको दायरामा आएर व्यवसाय गर्नसमेत आग्रह गरे ।
उद्योग वाणिज्य संघ ताप्लेजुङका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले कोरोनाकालपछि तंग्रिँदै गरेको जिल्लाको व्यवसाय हेवा खोलाको पुल नबन्दा समस्या आएकोे बताए । संघका अध्यक्ष विकास गौतमले जिल्लाका सबै व्यवसायीलाई यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरे ।