१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १o:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परीक्षाका गार्ड उत्तरपुस्तिका र असी हजार नगदसहित फेला परेपछि छानबिन समिति गठन

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षामा गार्ड बसेका आंगिक क्याम्पसका एक कर्मचारी उत्तरपुस्तिका र ८० हजार नगदसँगै फेला परेपछि घटना छानबिन गर्न भन्दै आन्तरिक छानबिन समिति गठन गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर– २, पोखरियास्थित इन्जिनियरिङ संकायको आंगिक क्याम्पस पुसेटमा ३ असार दिउँसो परीक्षामा गार्ड बसेका कर्मचारी मनीष यादवको स्कुटीको डिकीमा नगद असी हजार र दुई थान खाली उत्तरपुस्तिका  फेला परेपछि घटना छानबिन गर्न परीक्षा नियन्त्रण कार्यालयले आन्तरिक समिति गठन गरेको  हो। 

विश्वविद्यालयको विराटनगरस्थित परीक्षा नियन्त्रण कार्यालयले घटना छानबिन गरेर एक हप्ताभित्र प्रतिवेदन दिन पूर्वपरीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा घटनाबारे प्रस्ट भएर थप कारबाही अगाडि बढाउने परीक्षा नियन्त्रण बालेन्दु हमालले बताएका छन्।  

स्रोतका अनुसार पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसमै हुने परीक्षामा अनियमितता हुने गरेको समाचार बाहिरिएपछि समिति बनाएर  छानबिन गर्न परीक्षा कार्यालय बाध्य भएको हो । माथिल्लो निकायमा छानबिन प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको बताइए पनि सकभर घटनालाई सामसुम पार्ने नियतले समिति बनाइएको आशंका कर्मचारीहरूको छ। छाप लगाएको उत्तरपुस्तिका नै बाहिर लगेकाले उत्तर बाहिर लेखाएर भित्र ल्याएर साट्ने धन्दा पहिलेदेखि नै चल्ने गरेको र त्यसमा गिरोह नै सक्रिय हुन सक्ने भएकाले घटनाकाे प्रहरीमार्फत गहन अनुसन्धान हुनुपर्ने कर्मचारीहरूले बताइरहेका छन् । तर, यसबारे पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी वा प्राध्यापक संघ कसैले पनि कुनै प्रतिक्रिया जनाएका छैनन्।  

पुर्वाञ्चल विश्वविद्यालयको  आफ्नै आंगिक क्याम्पसभित्रै भएको घटना बाहिर आएपछि परीक्षा कार्यालयमा हलचल पैदा भएको छ। आफ्नै आंगिक क्याम्पसको परीक्षामा समेत अनियमितता हुन्छ भने सम्बन्धन पाएका  कलेजहरूमा सञ्चालन हुने परीक्षामा पनि अनियमितता भइरहेको हुन सक्ने कर्मचारीहरू बताउँछन् । विश्वविद्यालयका कर्मचारीहरू भन्छन्, ‘गिरोहको मिलेमतोविना उत्तरपुस्तिका बाहिर जानै सक्दैन, यसैले यस्तो गम्भीर घटनालाई सामान्य ठानेर हुँदैन, सिआइबीबाट गहन अनुसन्धान गराएर पर्दाफास गराउनुपर्छ।’ कर्मचारीहरूले परीक्षाको अनियमितता आशंकाको  घटनामा पहुँचवाला विद्यार्थी नेता र परीक्षाकै कर्मचारीहरूसहितको गिरोहको संलग्नता हुन सक्ने आशंका छ।  

पुर्वाञ्चल विश्वविद्यालयको परीक्षामा प्रश्नपत्र किनबेच हुनेदेखि अर्कैबाट लेखाएर उत्तरपुस्तिका साटफेर गर्ने गरेका घटना बारम्बार सार्वजनिक हुँदै आएका छन् । तर, केही वर्षदेखि सुधार हुँदै आएको पूर्वाञ्चल विश्वविद्यालय आंगिक क्याम्पसमै सञ्चालन भएको  परीक्षा केन्द्रमा अनियमितताको घटना बाहिर आएपछि फेरि पूर्वाञ्चल विश्वविद्यालय विवादमा आएको छ । 

प्रत्यक्षदर्शी कर्मचारीहरूका अनुसार पुसेट कलेजको  ल्याबमा पाँच वर्षदेखि ज्यालादारीमा कार्यरत कर्मचारी  मनीष यादवलाई परीक्षा कार्यालयले पहिलदेखि नै  परीक्षामा गार्ड बसाउँदै आएको थियो  । उनी हरेक परीक्षाको सुरुमै  स्कुटी लिएर केन्द्रबाहिर जाने र झन्डै एक–डेढ घण्टापछि फर्कने गर्दथे । उनको गतिविधिमाथि केही कर्मचारीहरूले पहिलेदेखि नै शंका गरेका थिए ।

३ असारमा पनि उनी परीक्षा सुरु भएको १२  मिनेटमै बाहिर निस्कन  लागेका थिए । सूचना पाएर कलेजमा पुगेको मोरङ प्रहरीले बाहिर जान लागेका   कर्मचारी यादवको स्कुटीबाट दुई थान उत्तरपुस्तिका र नगद ८० हजार बरामद गरेको थियो । तर, प्रहरीले यादवलाई प्रत्यक्ष अपराधमा संलग्न भएको नपाइएको भन्दै नियन्त्रणमा नलिई मुचुल्का मात्र उठाएर छाडिदिएको थियो । मोरङका एसपी नारायणप्रसाद चिमोरियाले अपराध पुष्टि नभएकाले यादवलाई पक्राउ गर्न नसकेको, तर  मुचुल्काचाहिँ  तयार पारेको बताए ।   

पुर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस पुसेटमा इन्जिनियरिङतर्फको छैटौँ सेमेस्टरको १८ जेठदेखि १९ असारसम्म परीक्षा सञ्चालन भइरहेको छ । उक्त परीक्षा केन्द्रमा विराटनगरको इस्टर्न इन्जिनियरिङ कलेजमा अध्ययनरत छैटाैँ सेमेस्टरतर्फका दुई सयजना विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् ।