
उच्च अदालत पाटनले स्वास्थ्य मन्त्रालयले प्रतिबन्ध लगाएको इ–सिगरेट (भेप)को आयात र बिक्री–वितरणमा अनुमति दिएको छ । मन्त्रालयले एक वर्षदेखि भेपको आयात र बिक्रीमा रोक लगाए पनि गत २१ जेठमा उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले बाटो खुला गरिदिएको हो ।
अदालतले कानुनलाई बेवास्ता गर्दै भेप आयात र बिक्री गर्न दिएको आदेशबारे स्वास्थ्य मन्त्रालय भने बेखबर छ । अर्थ मन्त्रालय, भन्सार विभागलगायतले भेपको आयात रोकेको भन्दै भेप मान्डु ट्रेडर्सले सञ्चार र अर्थ मन्त्रालय, भन्सार तथा वाणिज्य विभागसमेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको थियो । निवेदनमा स्वास्थ्य मन्त्रालयलाई विपक्षी भनेर उल्लेख गरिएको थियो । सुनुवाइको मौका नै नदिई अदालतले त्रुटिपूर्ण आदेश दिएको भन्दै स्वास्थ्य मन्त्रालयले असन्तुष्टि जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अदालतलाई स्वास्थ्य कानुनबारे थाहा नभएकाले त्यस्तो आदेश दिएको हुन सक्ने बताए । ‘विपक्षी नभएका कारण पनि स्वास्थ्य मन्त्रालयको कानुन वा मर्म कहिलेकाहीँ अदालतलाई थाहा नहुन सक्छ, तर यो त राम्रो भएन,’ उनले भने, ‘हामीले शुक्रबार नै उच्च अदालतलाई यससम्बन्धी मन्त्रालयको कानुनबारे जानकारी गराउँछौँ ।’
अर्थ मन्त्रालय र भन्सार विभागले एक वर्षअघि स्वास्थ्य मन्त्रालयको पत्रअनुसार भेपको आयात रोकेका थिए । तर, विपक्षीले कानुनी खेल रच्दै स्वास्थ्यलाई थाहै नदिने गरी अर्थ र सञ्चार मन्त्रालय, वाणिज्य विभागलगायत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । तर, अदालतको आदेशसँगै प्रतिबन्धित भेप फेरि आयात हुन थालेको हो ।
भेपको प्रयोगले युवाहरूमा क्यान्सरको दर तथा नसर्ने रोगको भार बढेको भन्दै मन्त्रालयले ०७१ मा निर्देशिका बनाएरै भेप आयात र बिक्री–वितरण प्रतिबन्ध लगाएको थियो । तैपनि गैरकानुनी मानिने भेपको प्रयोग युवाहरूमा बढ्दो छ । अदालतले नै भेप आयात गर्ने कम्पनीको पक्षमा फैसला गरेपछि त्यसले यसको बिक्री–वितरण बढ्ने देखिएको छ ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले स्वास्थ्य मन्त्रालयको कानुनविपरीत हुने गरी आदेश आउनु दुःखद रहेको बताए । ‘हामीले स्वास्थ्य मन्त्रालयको कानुन र आदेशअनुसार एक वर्षअघिदेखि भेप आयातमा रोक लगाएका थियौँ, तर उच्चले आयात गर्न आदेश थियो । अदालतले यो विषय स्वास्थ्य मन्त्रालयको प्रतिकूल हुन्छ भनेर अध्ययन नगरको देखियो,’ उनले भने ।’
उच्च अदालतले भेपको आयातबारे भन्सार विभागले रोग लगाएको पत्र कार्यान्वयन नगर्न भनेको छ । ‘सारभूत ऐनले आयात र निर्यात वितरणमा प्रतिबन्ध नलगाएको अवस्थामा कानुनसम्मत तरिकाले आयात इजाजत प्राप्त गरी आयात गरिएको विद्युतीय सिगरेट बिक्रीसम्बन्धी सर्त उल्लंघन नगरेको अवस्थामा गोदामबाट बरामद विद्युतीय सिगरेट (भेप) बिक्रीमा लगाउने गरी विपक्षीबाट भएको पत्र कानुनसम्मतको नभई तत्काल कार्यान्वयनयोग्य नदेखिएकाले विपक्षी कार्यालयबाट भएको उल्लिखित निर्णय र पत्र कार्यान्वयन नगर्नू–नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ । आदेशमा चेतावनीमूलक विज्ञापनबारे केही बोलिएको छैन । निवेदकले सञ्चार, अर्थ र भन्सारलाई विपक्षी बनाएकाले अदालतले पनि सोहीअनुसार आदेश दिएको बुझिएको छ । ‘अदालत मात्रै होइन, अर्थलाई पनि स्वास्थ्यको कानुनबारे थाहा छैन, निवेदकले जुन–जुन निकायलाई स्वास्थ्यको कानुन थाहा छैन, यसैलाई विपक्षी बनाए, यो गम्भीर हो,’ विभागका महानिर्देशक भट्टराईले भने, ‘स्वास्थ्य मन्त्रालयलाई विपक्ष बनाउँदा डिफेन्स गर्छ भनेर स्वास्थ्यलाई विपक्षी नबनाइएको बुझिन्छ, यहाँ निवेदकले अदालतलाई समेत झुक्याएको जस्तै देखिन्छ ।’
भेपले सिध्याउँदै छ युवाको फोक्सो
हेर्दा लाइटर, गाडीको चाबी, पेन, पेनड्राइभ वा कुनै बट्टाजस्तो देखिन्छ भेप । हेर्दै आकर्षक देखिने त्यस्तो डिभाइस वा बट्टामा हानिकारक धूम्रपानको राग भरिएको हुन्छ । यसलाई इसिगरेट पनि भन्ने गरिन्छ । फोक्सोका लागि यसको धुवाँ विषसरह मानिन्छ । बाटोमा हिँड्दै तान्न मिल्ने, खल्तीमा राख्न मिल्ने, चुरोटको खिल्लीमा जसरी धुवाँ नआउने भएपछि युवापुस्ता भेपमा पल्केको छ । साथीभाइ र आफन्तसँग चुरोटका खिल्ली तान्न लाज मान्नेले विनाहिच्किचावट भेप तानिरहेका छन् । चुरोटको बट्टामा जनचेतनामूलक चित्र राखिए पनि भेपमा भने कुनै चित्र राखिएको हुँदैन । भेप कहाँ उत्पादन हुन्छ र नेपालमा कसरी भित्रिरहेको छ भन्नेबारे स्वास्थ्य मन्त्रालयसमेत बेखबर छ ।
चिकित्सकहरूका अनुसार चुरोटको खिल्लीभन्दा पनि बढी हानिकारक मानिने भेपले पछिल्लो समय विकराल रूप लिँदै छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले अचेल चुरोटको नयाँ स्वरूप भेप प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको बताए । ‘चुरोटको खिल्ली परिवार वा आफन्तको सामुन्ने बसेर तान्दा बहिष्कार हुन्छ भन्नेले अहिले भेप परिवारका सदस्यसँगै बसेर तानेका छन्, यो निकै गलत हो । यो चुरोटको खिल्लीभन्दा झन् खतरनाक हुन्छ,’ उनले भने । उनका अनुसार विश्वका धेरै मुलुकमा भेप प्रतिबन्धित छ । नेपालमा भने स्वास्थ्य नीतिविपरीत बिक्री–वितरणसमेत भइरहेको छ ।
भारत, मलेसिया, चीनबाट भित्रिन्छ भेप
भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष मलेसियाबाट १२१ केजी भेप भित्रिएको थियो । भारत र चीनबाट समेत भेप भित्रिन्छ । गत आर्थिक वर्षको वैशाखसम्म भारतबाट ८८ केजी र चीनबाट ८० केजी भेप भित्रिएको थियो । तर, चालू आर्थिक वर्षको तथ्यांक विभागसँग छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हाल विश्वका ८८ देशमा भेप तथा विद्युतीय चुरोट किन्न मापदण्ड नै छैन । ७४ देशमा भेप उत्पादनसम्बन्धी नियमसमेत बनेको छैन ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मात्र सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण देशको अर्थतन्त्रमा समेत आर्थिक भार थपिँदो छ । सन् २०१७ मा नेपालमा सुर्तीजन्य पदार्थ सेवनको आर्थिक भार ४७ अर्बभन्दा बढी थियो । मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण हुने ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकमा हुन्छ । त्यसमा नेपाल पनि पर्दछ । नेपालमा ५५ लाख मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । त्यसबाहेक करिब एक लाख युवाले भेप प्रयोग गर्ने गरेको मन्त्रालयको आकलन छ ।