१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format ११:५५:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक राजस्वमा सुधार

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo
  • सरकारी संस्थान र सार्वजनिक कम्पनीको आयकर घट्दा निजी कम्पनीको योगदान २८.१० प्रतिशतले वृद्धि, व्यक्तिगत आयकरबाट नौ अर्ब आठ करोड संकलन

चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनको आन्तरिक उत्पादन तथा व्यवसायबाट उठ्ने राजस्व संकलनमा सुधार देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब ९८ अर्ब २९ करोड आन्तरिक राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्ष ०८०/८१ को ११ महिनाको तुलनामा ९.३३ प्रतिशतले बढी हो । गत आवमा सोही अवधिमा चार खर्ब ५५ अर्ब ७५ करोड आन्तरिक राजस्व उठेको थियो ।

समिक्षा अवधिमा संस्थागत आयकर संकलनमा भने ६.७१ प्रतिशतले गिरावट आएको छ । गत आवको ११ महिनामा १० अर्ब ८१ करोड संस्थागत आयकर संकलन भएकोमा चालू आवको सोही अवधिमा १० अर्ब आठ करोड संकलन भएको छ । खासगरी सरकारी स्वामित्वमा रहेका संस्थानहरूको आयकर अघिल्लो वर्षको तुलनामा ४३.८७ प्रतिशतले गिरावट आएको छ । यस्तो सस्थाबाट अघिल्लो आवको जेठसम्ममा नौ अर्ब ७६ करोड संकलन भएकामा चालू आवमा घटेर पाँच अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ । त्यस्तै सार्वजनिक कम्पनीहरूले तिर्ने आयकरमा पनि २२.१४ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्ष ५६ अर्ब ५१ करोड संकलन भएकोमा चालू आवमा ४४ अर्बमा सीमित भएको छ ।

यद्यपि, निजी कम्पनीहरूको योगदान भने सकारात्मक देखिएको छ । गत आर्थिक वर्षको ३० अर्ब चार करोडको तुलनामा चालू आवको ११ महिनामा ३८ अर्ब ४९ करोड संकलन भइसकेको छ । अर्थात्, गत आवको ११ महिनाको तुलनामा यस्तो आयकर २८.१० प्रतिशतले वृद्धि भएको हो । यस्तै, आकस्मिक लाभ करबापत उठ्ने आयकर पनि २.६१ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाएको छ । 

व्यक्तिगत आयकरमा सुधार
औपचारिक रोजगार र सामाजिक सुरक्षा विस्तारको प्रभाव व्यक्तिगत आयकरमा देखिएको छ । चालू आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म व्यक्तिगत आयकर संकलनमा १६.९२ प्रतिशतले वृद्धि भई नौ अर्ब आठ करोड पुगेको छ । व्यक्तिगत आयकर तथा स्वामित्व शीर्षकमा कर संकलन अघिल्लो वर्षको २३ अर्ब ३० करोडबाट बढेर २५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यो १०.७१ प्रतिशतको वृद्धि हो ।

पारिश्रमिक कर शीर्षकमा भने चालू आवको जेठसम्म संकलन २९ अर्ब २३ करोड रुपैयाँमा सीमित रहँदा गत आर्थिक वर्षको तुलनामा १.२५ प्रतिशतले घटेको देखिन्छ । गत वर्ष यस शीर्षकबाट २९ अर्ब ६० करोड रुपैयाँ संकलन भएको थियो । सामाजिक सुरक्षा कर संकलन सात अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.६३ प्रतिशतले वृद्धि हो ।व्यक्तिगत पुँजीगत लाभकर संकलनमा ६१.११ प्रतिशतको वृद्धि भएको छ । गत आवमा १७ अर्ब ६३ करोड रुपैयाँ संकलन भएकोमा चालू आवमा यस्तो रकम २८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सेयर बजार, घरजग्गा कारोबार र पुँजी बजारमा देखिएको सुधारले पुँजीगत लाभकर संकलनमा उल्लेख्य सुधार देखिएको हो ।

लगानीबापतको आयकरमा झिनो सुधार
चालू आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्मको तथ्यांकअनुसार लगानी आयकर संकलन गत आर्थिक वर्षको तुलनामा ०.१४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष लगानी आयकर शीर्षकमा ४५ अर्ब ६२ करोड रुपैयाँ संकलन हुँदा चालू आर्थिक वर्षको सोही अवधिमा ४५ अर्ब ६८ करोड रुपैयाँ संकलन गरिएको छ ।

सबैभन्दा उल्लेखनीय सुधार कर्पोरेट पुँजीगत लाभकर शीर्षकमा देखिएको छ । गत आर्थिक वर्ष एक अर्ब ५७ करोड रुपैयाँ संकलन भएकोमा चालू आवमा सोही शीर्षकबाट ६ अर्ब ७० करोड रुपैयाँ संकलन गरिएको छ । यो ३२४.७५ प्रतिशतको वृद्धि हो । लगानी आयको ठुलो हिस्सा ओगट्ने ब्याज आयकरमा भने गिरावट देखिएको छ । गत आर्थिक वर्षको ११ महिनामा ३५ अर्ब २४ करोड रुपैयाँ संकलन भए पनि चालू आर्थिक वर्षको सोही अवधिमा यो रकम घटेर २९ अर्ब दुई करोड रुपैयाँमा सीमित भएको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदरको घट्दो प्रवृत्ति र लगानीमा आएको सुस्तताको असर यस्तो आयकरमा परेको हो ।

लिजको आयमा केही सुधार
गत आर्थिक वर्षको जेठसम्म दुई अर्ब १९ करोड रुपैयाँ भाडा तथा लिजबापत उठ्ने आयकर संकलन भएकोमा चालू आर्थिक वर्ष सोही अवधिमा दुई अर्ब ३१ करोड रुपैयाँ कर संकलन भएको छ । यो ५.३९ प्रतिशतको वृद्धि हो । यद्यपि, दुई वर्षअघि भने यो शीर्षकमा दुई अर्ब ३९ करोड रुपैयाँ संकलन भएको थियो । त्यस्तै, लाभांश आयकरबापत चालू आर्थिक वर्ष पाँच अर्ब ९४ करोड रुपैयाँ संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १५.६२ प्रतिशतले बढेको हो ।

भ्याटमा १२.२२ प्रतिशत वृद्धि
चालू आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) संकलन १३.३२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा एक खर्ब १२ अर्ब २३ करोड संकलन हुँदा चालू आवमा  एक खर्ब २७ अर्ब १८ करोड भ्याट संकलन गरिएको छ ।

भ्याटअन्तर्गत सञ्चार, बिमा, हवाई शुल्क तथा अन्य सेवा शुल्क आदि शीर्षकबाट उल्लेख्य योगदान भएको छ । गत आर्थिक वर्षको ११ महिनामा यी क्षेत्रबाट २० अर्ब ६४ करोड रुपैयाँ भ्याट संकलन भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा २८ अर्ब ४७ करोड रुपैयाँ संकलन गरिएको छ । यो ३७.९ प्रतिशतको वृद्धि हो ।

उत्पादन शीर्षकबाट भ्याट संकलन १३.०९ प्रतिशतले बढेर ३६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष उत्पादन करमा सामान्य गिरावट देखिए पनि चालू आर्थिक वर्षमा वृद्धि भएको छ । बिक्री तथा वितरण शीर्षकमा पनि ८.५७ प्रतिशत वृद्धि हुँदै संकलन २७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

पर्यटन व्यवसाय शीर्षकमा भ्याट संकलन गत आर्थिक वर्षको तीन अर्ब १८ करोड रुपैयाँबाट बढेर तीन अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यो १९.६४ प्रतिशतको वृद्धि हो । यो पर्यटन व्यवसायको विस्तार, सेवा पुनः सञ्चालन र पर्यटक आगमनमा देखिएको सुधारको परिणाम हो । ठेक्का तथा परामर्श सेवा शीर्षकमा अघिल्लो वर्ष भ्याट २४ अर्ब २० संकलन भएकोमा चालू वर्ष २४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो १.६६ प्रतिशतको वृद्धि हो । 

स्वदेशी विद्यार्थीबाट उठ्ने शुल्क घट्यो, बिदेसिएकाबाट बढ्यो 
शिक्षा शीर्षकमा दुईवटा प्रमुख कर लाग्छन् । स्वदेशमा सञ्चालित विद्यालय तथा कलेजमा लिइने शुल्क र विदेशी अध्ययन शुल्क । स्वदेशी विद्यालय तथा कलेज शुल्क गत वर्षको ३६ लाख रुपैयाँबाट घटेर चालू वर्ष १७ लाख रुपैयाँमा सीमित भएको छ । यो ५३.५७ प्रतिशतले गिरावट हो । समग्रमा गत आर्थिक वर्ष शिक्षा शुल्कबाट दुई अर्ब ९४ करोड रुपैयाँ संकलन भएकोमा चालू वर्ष तीन अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो १०.८७ प्रतिशतको वृद्धि हो ।

मेटा, एक्सलगायतका आइटी कम्पनीबाट उठ्ने करमा उल्लेख्य वृद्धि
मेटा, एक्स, नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय टेक कम्पनीबाट उठ्ने विद्युतीय सेवा कर (डिएसटी) ६ लाख आठ हजार रुपैयाँबाट बढेर चालू वर्ष ४९ लाख रुपैयाँ पुगेको छ । यो ६१९.८३ प्रतिशतको वृद्धि हो । सुनचाँदीका गरहनाजस्ता विलासिताका वस्तुमा लाग्ने विलासिता शुल्क एक अर्ब ९४ करोड रुपैयाँबाट बढेर दुई अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । विदेश भ्रमण शुल्क दुई करोड ३४ लाखबाट बढेर पाँच करोड ५७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, वैदेशिक रोजगार शुल्क एक करोड १५ लाखबाट बढेर दुई करोड ६६ लाख रुपैयाँ कायम भएको छ । दूरसञ्चार सेवा शुल्क ६ अर्ब नौ करोडबाट बढेर ६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

अन्त:शुल्कमा मदिरा, चुरोट र बियरको उल्लेख्य योगदान
चालू आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म अन्त:शुल्कअन्तर्गत उत्पादनमूलक वस्तुहरूबाट एक खर्ब १३ अर्ब २९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९५ अर्ब २१ करोड रुपैयाँ मात्रै संकलन भएको थियो । यसले अन्तःशुल्क संकलनमा १८.९९ प्रतिशतको वृद्धि भएको देखाएको छ ।

मदिराबाट अन्तःशुल्क संकलन गत आर्थिक वर्षको ११ महिनको २४ अर्ब २३ करोड रुपैयाँबाट चालू आवको सोही अवधिमा ३१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यो २८.५७ प्रतिशतको वृद्धि हो । मदिराजन्य उत्पादन र खपतमा वृद्धिको कारण यसको योगदान बढेको देखिन्छ । बियरबापत गत आर्थिक वर्षको ११ महिनामा २८ अर्ब ९८ करोड रुपैयाँ संकलन भएकोमा चालू आवको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ संकलन भएको छ । यो २५.८६ प्रतिशतले वृद्धि हो । चुरोट–बिँडीबाट गत वर्ष २४ अर्ब ७९ करोड रुपैयाँ राजस्व उठेकोमा चालू वर्ष २५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसले ३.०९ प्रतिशतको सामान्य वृद्धि देखाएको छ ।