
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका– १ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको भे.१ख ४०८५ नम्बरको बसलाई गएराति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको वेला एक्कासि आएको बाढीले बस बगाएको उनले बताए ।
‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो,’ प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्स्काभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।’ बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए ।
उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए । यात्रुको सामान के–कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरि परेको पानीका कारण उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन् । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरे ।
तस्बिर : नेपाल प्रहरी