
कञ्चनपुरकोे भाँसी–टकुलिया नाला सडक निर्माण कार्य गुणस्तहीन भएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। संघीय सरकारले बेदकोट नगरपालिका– ८, भाँसी नालादेखि टकुलिया खोलासम्म निर्माण गर्न लागेको कालोपत्रे सडक गुणस्तहीन भएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । संघीय सहरी तथा भवन निर्माण कार्यालयमार्फत ढलसहित कालोपत्रे सडक गुणस्तरीय नभएको भन्दै बिहीबारदेखि स्थानीयले निर्माण व्यवसायीको कामकाज ठप्प पारेर सडकमा उत्रिएका छन् । उनीहरूले निर्माण कार्यको सुरुवातमै सडक कमजोर बनाउन खोजिएको आरोप लगाएका छन्।
स्थानीय यज्ञराज जोशीले राज्यले लाखौँ लगानी गरेको सडक निर्माण कार्य ठेकेदार र सम्बन्धित निकायबाटै निर्माण कार्यमा गम्भीर नभएको दुःखेसो पोखे । जोशीले सडक निर्माणकै सुरुवातदेखि आफूहरूले गुणस्तरीय सडक निर्माण गर्न ठेकेदार र कार्यालयको ध्यानाकर्षण गराए पनि सडक गुणस्तरीय बनाउने कार्यमा दुवै निकाय गम्भीर नभएपछि सडकमै आएर आन्दोलित भएको बताए । ‘सडकमा पाइप हाले पनि भित्रतर्फ माटो हालेको भेटियो,’ ‘उनले भने, ‘पाइप पनि खुसिरहेको छ ।’ उनले नाला र सडकको लेबल समान भएको बताउँदै भत्किएको कल्भर्ट मर्मत नगरेरै निर्माण गरिएको बताए।
अर्का स्थानीय एवं निर्माण सहजीकरण समिति संयोजक हिम्मत टमाटाले सुरुवाती चरणदेखि निर्माण कार्यमा बदमासी भएको बताए । उनले गुणस्तहीन भएको भनेर पटक–पटक निर्माण व्यवसायीलाई अवगत गराउँदा पनि वास्ता नराखेको बताए । ‘हामीमाथि अन्याय हुँदा बाध्य भएर आजदेखि काम रोकेका छौँ,’ ‘उनले भने, ‘सम्बन्धित निकायबाट गुणस्तरीयताकोे विषयमा विश्वास नदिलाएसम्म काम निरन्तर रोक्छौँ ।’ स्थानीयले असारे बजेट दोहन हुन नदिनेदेखि गुणस्तरीय सडक बनाउनुपर्ने माग अघि सार्दै आएका छन्।
गृहमन्त्री रमेश लेखककै वडामा सडक निर्माण कार्यमा बेतिथि हुँदा सम्बन्धित निकायबाट चासो नदिएपछि आफूहरू बाध्य भएर आवाज उठाउनुपरेको दुःखेसो पोखेका छन् । उक्त सडक निर्माणको जिम्मा पाएको ध्रुव कन्स्क्ट्रक्सन प्रालिका सञ्चालक शंकर जोशीले कार्यालयबाट प्राप्त सम्झौता र मापदण्डअनुरूप सडक र ढलको काम भइरहेको बताए।
उनका अनुसार ८५ लाखमा भ्याटबाहेक गत फागुनदेखि काम सुरुवात गरेको र प्राइमर हालेकै राति वर्षातले प्राइमर खुलेको बताए । ‘हामीले स्टमेटअनुरूप नै काम गरेका छौँ,’ उनले भने, ‘गुणस्तर पनि छ, जमिन तलमाथि हुँदा सडक र ढलकोे लेबल मिलेका छैन, अनि कल्भर्ट पनि हाम्रै गाडीले निर्माणका क्रममा ठोक्किएर केही भत्किएको होे, त्यो मर्मत भइसक्यो ।’ कतै निर्माणका क्रममा देखिएका त्रुटि सच्याएर स्थानीयको सुझावअनुरूप अघि बढ्ने जोशीको भनाइ छ । सडकको काम अझै गर्न बाँकी रहेको बताउँदै निर्माण कार्य गुणस्तरीयअनुरूप भइरहेको दाबी गरेका छन्।
संघीय सहरी तथा भवन निर्माण कार्यालय धनगढीका सबइन्जिनियर प्रवीण पालले यसअघि सडकको ल्याब टेस्ट गरेको र रिपाेर्ट आउन बाँकी रहेको बताए । उनले अहिले निर्माण कार्य नै भइरहेको अवस्थामा अहिले नै गुणस्तहीन भएको भन्न नसकिने र मापदण्डअनुरूप काम भए नभएको थप प्राविधिक जाँचबाटै थाहा हुने बताए । कार्यालयले मापदण्डअनुरूप सडक निर्माण गर्न सम्बन्धित निर्माण व्यवसायीले निर्देशन दिने बताए।
बेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले सडक निर्माणका क्रममा स्थानीयबाट गुणस्तरका विषय जनगुनासा आएकाले सम्बन्धित निकायबाट गुणस्तरसहित गुनासा समाधान गर्नुपर्ने बताए। वडाध्यक्ष जोशीले मापदण्ड, सम्झौता र गुणस्तरमा कुनै पनि पक्षबाट कमी हुन नदिनुपर्नेमा जोड दिएका छन् ।