१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
इरानबाट उद्धार गरिएका पाकिस्तानी विद्यार्थीहरू बलुचिस्तान प्रान्तको तफ्तानमा पाकिस्तान(इरान सीमा पार गर्दै। तस्बिर: एएफपी
२o८२ असार ५ बिहीबार १३:१६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायल र इरान युद्धकाे सातौँ दिन : कुन देशले कति नागरिक स्वदेश फिर्ता गरे ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १३:१६:oo

विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् ।गत शुक्रबार इजरायलले इरानको आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बम आक्रमण अभियान चलाएपछि तेहरानबाट बदलाको कारबाही सुरु भएकाले विदेशीहरूले दुवै देश छाड्न हतार गरेका छन् ।

तर इजरायलको हवाई क्षेत्र बन्द भएपछि र दुई देशले भारी क्षेप्यास्त्र प्रहार गर्दा धेरै मानिसलाई तेस्रो देशहरूबाट निकालिएको छ ।युरोपेली देशहरूले पहिले नै इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् ।चेक गणतन्त्र र स्लोभाकियाले मंगलबार सरकारी विमानमा एक सय ८१ जनालाई स्वदेश फिर्ता गरेको बताएका छन् ।

जर्मन सरकारले जोर्डन हुँदै बुधबार र बिहीबार उडानहरू तय गरिएको बताएको छ भने पोल्यान्डले आफ्ना नागरिकहरू मध्ये पहिलो समूह बुधबार फर्कने बताएको छ । ग्रिसले आफ्ना एक सय पाँच नागरिक र धेरै विदेशी नागरिकलाई इजिप्ट हुँदै स्वदेश फिर्ता गरेको बताएको छ । एक सय ४८ जना यात्रु बोकेको निजी विमान मङ्गलबार बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरेको छ ।

त्यस्तै इजरायलका लागि अमेरिकी राजदूतले बुधबार हवाई र समुद्री मार्गबाट अमेरिकीहरूलाई निकाल्ने योजना घोषणा गरेका छन् । अस्ट्रेलियाले इरानबाट करिब एक हजार पाँच सय र इजरायलबाट एक हजार दुई सयभन्दा बढी नागरिक निकाल्न थालेको छ । तर अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले मिसाइल आक्रमणले नागरिक विमानहरू कुनै पनि देशमा अवतरण गर्न धेरै जोखिमपूर्ण बनाएको बताए । 
    पाकिस्तानले आफ्नो घर फर्कन चाहने पाकिस्तानीहरू बाहेक छिमेकी इरानसँगको सीमा नाकाहरू बन्द गरेको छ । अहिलेसम्म कम्तीमा दुई सय विद्यार्थीसहित करिब एक हजार पाकिस्तानी भागेका छन् ।

   इरानबाट कूटनीतिज्ञका परिवार र केही गैर–आवश्यक कर्मचारीहरूलाई बाहिर निकालिएको विदेश मन्त्रालयले जनाएको छ । आर्मेनियाबाट विशेष उडानमा इरानबाट करिब एक सय १० भारतीय विद्यार्थी निकालिएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।न्युजिल्यान्डले बिहीबार इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको र दुई जना कर्मचारी र उनीहरूको परिवारलाई भूमिबाट अजरबैजानमा लगेको बताएको छ ।

    जापानले इजरायलमा बस्ने करिब एक हजार र इरानमा करिब दुई सय ८० जापानी नागरिकका लागि सैन्य विमानहरूलाई तयारी अवस्थामा राख्न आदेश दिएको सरकारी मन्त्रीहरूले जनाएका छन् । इरान र इजरायलमा रहेका जापानी दूतावासहरूले छिमेकी देशहरूमा नागरिकहरू निकाल्न बसहरू प्रयोग गर्ने तयारी गरिरहेको एक सरकारी प्रवक्ताले बताए। युद्ध सातौँ दिनमा प्रवेश गरेको छ । रासस/एएफपी