
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले ठुला नेताहरूलाई मात्रै देखेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभामा बजेटमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै शर्माले मुख्य बजेट ‘ठुला कुर्सी’मै केन्द्रित भएको बताए।
‘ठुला कुर्सी’ले मात्रै देश नबन्ने भन्दै उनले भने, ‘यो बजेटले ठुला कुर्सी मात्रै देख्यो। ठुला कुर्सीलाई मात्रै बजेट हाल्यो। अन्त त यसो चारो छरेको त होला, तर मुख्य बजेट ठुला कुर्सीहरूकोमा केन्द्रित भएको छ।’
गणेशमान सिंहजस्तो आदर्श व्यक्तित्वको नामबाट योजनाका नाममा बजेट दुरुपयोग गरिएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले दुःख व्यक्त गरे। ‘दुःखका साथ भन्नुपर्छ गणेशमान सिंह हामी सबैको सम्मानित नेता हो। देशको आदर्श व्यक्तित्व हो। त्यस्तो आदर्श व्यक्तित्वको नाममा योजनाका नाममा जो दुरुपयोग गरिएको छ, यो दुःखको कुरा हो,’ उनले भने।