
उदयपुरको कटारी नगरपालिकाका विद्यालयका व्यवस्थापन समिति र विद्यालय प्रधानध्यापकहरूले शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनैपर्ने अनिवार्य नियम बनाउन माग गरेका छन् ।सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्दै नागरिकलाई सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन कर्मचारी र शिक्षक छोराछोरी अनिवार्य रूपमा सरकारी तथा सामुदायिक विद्यालयमा पढाउन माग गरेका हुन् ।
केही दिनअघि मात्र कटारी नगरपालिकाका विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन्। नमुना त्रिवेणी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले अघिल्लो शैक्षिक शत्रदेखि नै त्रिवेणी माध्यमिक विद्यालयले कार्यरत विद्यालयका कर्मचारी र शिक्षकका छोरछोरी अनिवार्य रूपमा त्रिवेणी माध्यमिक विद्यालयमै पढाउनुपर्ने नियम बनाएर लागू गरेको र शतप्रतिशत कार्यान्वय भएको बताए। उनले भने, ‘अहिले कटारी नगरपालिकाभित्रै रहेको मरुवा माध्यमिक विद्यालयले पनि विद्यालयका कर्मचारी र शिक्षकका छोराछोरी कार्यरत विद्यालयमै पढाउनुपर्ने नियम बनाएको छ।’
उनले नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा सरकारी विद्यालयमै नगरपालिकाभित्र रहेका शिक्षक र सरकारी कर्मचारीको छोराछोरी पढाउनुपर्ने नियम नगरपालिकाले बनाएर लागू गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको बताए। उनले भने, ‘नगरपालिकाले नगरपालिकाभित्र रहेका शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने नियम बनाएर लागू गरे सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन सकिन्छ ।’
उक्त ध्यानाकर्षणपत्रमा विद्यालयहरूमा आवश्यकताअनुसार बजेटको व्यवस्था गरी गुणस्तरीय शिक्षा प्रवाह गर्न, शिक्षाको गुणस्तर मापन गर्ने ‘शैक्षिक सहजीकरण कार्यविधि’ कार्यान्वयन गर्न, कमजोर शैक्षिक प्रदर्शन भएका विद्यालयहरूको विश्लेषण गरी दशप्रतिशत विद्यालयलाई विशेष कार्यक्रमअन्तर्गत सुधारको योजना ल्याउन, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउने सुनिश्चितता गर्न, विद्यालय व्यवस्थापन समितिमा योग्य र शिक्षाप्रति प्रतिबद्ध व्यक्ति समावेश गर्न, विद्यालयको पूर्वाधार, जनशक्ति र शैक्षिक उपकरणको न्यूनतम आवश्यकताहरू पूरा गर्न, उच्च परिणाम ल्याउने विद्यालय, शिक्षक तथा कर्मचारीलाई सम्मान, प्रोत्साहन र पुरस्कार दिनुपर्ने ध्यानकर्षणपत्रमा उल्लेख गरिएको छ।
यसैगरी, पत्रमा उल्लेख गरिएअनुसार, आगामी शैक्षिक सत्रदेखि एमबिबिएस, इन्जिनियरिङजस्ता प्राविधिक शिक्षामा नगरकै सामुदायिक विद्यालयबाट विद्यार्थी लैजाने लक्ष्य लिन माग गरिएको छ । त्यसका लागि शैक्षिक संरचना र नीति सुधार अपरिहार्य रहेको दाबी गरिएको छ। उक्त ध्यानाकर्षणपत्रमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । ध्यानकर्षणपत्र बुझदै नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले ध्यानाकर्षणपत्रको आधारमा अब नगरपालिकाले शैक्षिक नीति ल्याउन प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको दाहालको भनाइ छ।