१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
२o८२ असार ५ बिहीबार o७:५६:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायल–इरान युद्ध : विश्व अर्थतन्त्र नै प्रभावित हुने जोखिम

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार o७:५६:oo

इजरायल र इरानबिच लगातार एक–अर्काविरुद्ध घातक आक्रमण हुँदा कतै यो द्वन्द्व विश्वको प्रमुख तेल तथा ग्यास उत्पादन हुने मध्यपूर्वभरि फैलिने त होइन भन्ने चिन्ता बढ्दै गएको छ । शुक्रबार इजरायलले अचानक इरानमाथि आक्रमण गरेपछि शेयर बजारमा उतारचढाव आएको थियो । पछि यो स्थिर बन्यो । इजरायलले शुक्रबार गरेको सुरुवाती आक्रमणमा इरानका धेरै शीर्ष सैन्य कमान्डर र आणविक वैज्ञानिकलाई मारेको थियो । त्यसै दिन उसले केही इरानी आणविक अनुसन्धान केन्द्रलाई निसाना बनायो । शनिबार पुनः इजरायलले इरानी खनिज इन्धन उत्पादन क्षेत्रमा आक्रमण गर्‍यो । इरानी राज्य मिडियाले दक्षिण देशको सबैभन्दा ठुलो ग्यास उत्पादन क्षेत्र पार्स ग्यासफिल्डमा आगलागी भएको बताएको थियो ।

इजरायली आक्रमणमा इरानमा पाँच सयभन्दा बढीको मृत्यु भइसकेको विभिन्न स्रोतले बताएका छन् । इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफ दिइरहेको छ । इरानले हानेकामध्ये केही क्षेप्यास्त्र इजरायली प्रतिरक्षा प्रणालीको प्रयासका बाबजुद लक्ष्यमा पुगिरहेका छन्, जसले कम्तीमा २४ जनाको ज्यान लिएको अधिकारीले बताएका छन् । ‘ट्रुथ सोसल’ नामक आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई ‘तत्काल आणविक कार्यक्रमको विषयमा सम्झौता गर्न’ अन्यथा ‘थप कठोर आक्रमणका लागि तयार रहन’ चेतावनी दिएका छन् । पछिल्ला घटनाक्रमले मध्यपूर्वका दुई सबैभन्दा शक्तिशाली शक्ति इरान र इजरायलबिचको द्वन्द्व पूर्ण युद्धतिर अघि बढेको देखाउँछन् ।

यस्तोमा वित्तीय बजार र उड्डयन क्षेत्र प्रभावित हुनेछन् । विश्लेषकले तेलको मूल्यमा नजर लगाइरहेका छन् । सुनजस्ता सुरक्षित आश्रयस्थलमा फर्किने लगानीकर्ताको संख्या बढेको देखिन्छ । पूर्णस्तरको युद्धले परिस्थिति निकै खराब बन्न सक्ने विज्ञले चेतावनी दिएका छन् ।

तेलको मूल्यमा सामान्य वृद्धि 
सोमबार बिहानै तेलको वैश्विक बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिब्यारेल ७४.६० डलरमा उक्लियो । यो इजरायलले अचानक आक्रमण गर्नुभन्दा अघिल्लो दिन बिहीबारको तुलनामा लगभग सात प्रतिशतले बढी हो । मध्यपूर्व विश्वको प्रमुख तेल र प्राकृतिक ग्यास उत्पादन हुने क्षेत्र हो । त्यहाँ उत्पादन भएका तेल र ग्यास त्यस भेगको व्यस्त समुद्री लेनबाट जहाजमा विश्वभर पुग्छन् । त्यहीँ स्ट्रेट अफ हर्मुजको जलमार्ग पनि पर्छ । इरानलाई खाडी राज्यबाट अलग गर्ने साँघुरो जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ले अरब सागरलाई हिन्द महासागरसँग जोड्छ ।

यो मार्गबाट विश्वको तेल आपूर्तिको एकतिहाइ हिस्सा अर्थात् प्रत्येक दिन लगभग दुई करोड १० लाख ब्यारेल बाहिरिन्छ । यसको सबैभन्दा साँघुरो बिन्दु जम्मा ३३ किलोमिटर चौडा छ । त्यसमध्ये पनि जहाज हिँड्नलायकको क्षेत्र अझ साँघुरो छ । यसले यस भेगबाट हिँड्ने जहाजमाथि आक्रमणको उच्च जोखिम छ । इजरायल र इरानबिचको द्वन्द्वले तेहरानले हरमुज क्षेत्रको समुद्री चोकपोइन्ट बन्द गर्छ कि गर्दैन भन्ने दशकौँ पुरानो प्रश्नलाई पुनर्जीवित गरेको छ । त्यही आशंकामा तेलको मूल्यवृद्धि भएको छ । रुढिवादी सांसद इस्माइल कोसारीलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सी आइआरआइएनएनले इजरायलसँगको द्वन्द्व तीव्र हुँदै जाँदा तेहरानले जलमार्ग बन्द गर्ने विचार गरिरहेको लेखेको छ । गोल्डम्यान स्याक्सका अनुसार स्ट्रेट अफ हर्मुज बन्द गरियो भने सबैभन्दा खराब अवस्थामा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्न सक्छ । तथापि, सन् १९८० देखि १९८८ बिच चलेको इरान–इराक युद्धको समयमा हर्मुज कहिल्यै पूर्ण रूपमा बन्द भएको थिएन । जब तेलको मूल्य बढ्छ, उत्पादन लागत पनि बढ्छ । बढेको लागतको भार अन्ततः उपभोक्तामाथि पर्छ । विशेषगरी खाना, कपडा र रसायनजस्ता ऊर्जामाथि निर्भर उत्पादनको मूल्य बढ्ने सम्भावना उच्च हुन्छ । यदि द्वन्द्व जारी रह्यो भने विश्वभरका तेल आयात गर्ने देशले उच्च मुद्रास्फीति र सुस्त आर्थिक वृद्धि अनुभव गर्न सक्छन् । 

वाल स्ट्रिटमा असर परेको छ । शुक्रबार एस एन्ड पी ५०० र न्यासड्याक कम्पोजिट सूचकांक क्रमशः १.१ र १.३ प्रतिशतले घट्यो । मध्यपूर्वमा इजिप्टको इजिएक्स ३० सूचकांक आइतबार ७.७ प्रतिशतले घट्यो । इजरायलको तेल अभिभ स्टक एक्सचेन्ज ३५ को सूचकांक १.५ प्रतिशतले घट्यो । इजरायलले इरानमाथि आक्रमणपछि युरोपेली इक्विटी पनि तल झरेका थिए । गत हप्ताको अन्त्यमा जर्मनीको डिएएक्स र फ्रान्सको सिएसी ४० नामक बजार १.१ प्रतिशतभन्दा अलि बढीले घटेको थियो भने बेलायतको एफटिएसई १०० बजार शुक्रबार ०.५ प्रतिशतले घटेको थियो । तर, सोही दिन केही बेलायती रक्षा कम्पनीमा भने उछाल देखियो । शुक्रबार रक्षा ठेकेदार बिएई सिस्टम्सको मूल्य लगभग तीन प्रतिशतले बढेको थियो । यस वृद्धिले पनि खासमा तनाव बढ्न सक्ने सम्भावनालाई नै प्रतिबिम्बित गर्छ । सोमबारसम्ममा तेल र सुनको मूल्य घटेको र स्टकको मूल्य बढेको देखियो । ‘सेयरबजारले पछिल्लो द्वन्द्व अपेक्षाकृत रूपमा सीमित हुने अपेक्षा गरिरहेजस्तो देखिन्छन् । महत्वपूर्ण रूपमा इरानले अहिलेसम्म यस भेगमा कुनै पनि अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छैन,’ अल गाओदले भने । 

हवाई सेवा बन्द हुँदाउड्डयन क्षेत्र प्रभावित
मध्यपूर्वमा धेरै वायुसेवाले उडान निलम्बन वा रद्द गरेका छन् । केही देशले आफ्नो हवाई क्षेत्र नै बन्द गरेका छन् । जस्तो, मध्यपूर्वको सबैभन्दा ठुलो वायुसेवा एमिरेट्सले जुन ३० सम्म इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडान स्थगित गरेको बताएको छ । आइतबारसम्म लेबनानका उडान रोकिएका छन् । त्यस्तै अर्को महत्वपूर्ण इतिहाद एयरवेज, कतार एयरवेजले तेल अभिभ, इरान, इराक र सिरियाको उडान रद्द गरेको छ । तिनले अन्य धेरै सेवाको रुट पनि फेरबदल गरेको छ । ग्राहकलाई उनीहरूको उडान स्थितिबारे अद्यावधिक पर्खन सल्लाह दिएको छ ।

शुक्रबार इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । जोर्डनको नागरिक उड्डयन प्राधिकरणले यस क्षेत्रमा जारी तनावका कारण हुने कुनै पनि खतराको पूर्वानुमान गर्दै ‘अस्थायी रूपमा’ जोर्डनको हवाई क्षेत्र बन्द गरेको बताएको छ । अल गाओदको प्रक्षेपणमा मध्यपूर्वमा देखिएको हवाई अवरोध छोटो हुनेछ । यो धेरैमा एक महिना हुने, त्यसपछि पर्यटन फेरि उकालो लाग्ने उनले बताए । उनले विश्वव्यापी वित्तीय बजारबारे पनि यस्तै भविष्यवाणी गर्दै भने, ‘जबसम्म हवाई आक्रमण अहिलेजस्तै दुई देशबिच मात्र सीमित रहन्छ सेयरमूल्यमा खासै परिवर्तन हुँदैन । ’

अल जजिराबाट