१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ४ बुधबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम विभागले गर्‍यो सिन्धुपाल्चोक प्रशासनको विज्ञप्तिको खण्डन- भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १८:३५:oo

जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र माथिल्लो जलाधार (भोटेकोशीसहित) क्षेत्रमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ।

विभागका प्रवक्ता, वरिष्ठ मौसमविद् विभुति पोखरेलले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘भूउपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्यांक तथा सूचनाको हालको विश्लेषणका आधारमा सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको सबैमा जानकारी गराइन्छ।’

प्रवक्ता पोखरेलले नयाँ पत्रिकासँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ठूलो वर्षाको सम्भावना बताए पनि त्यस्तो अवस्था नरहेको बताइन्। ‘उहाँहरूले विज्ञप्ति निकाल्नु भएको छ तर, ठूलो पानी पर्ने र तटीय क्षेत्रका नागरिकलाई असर गर्ने सम्भावना देखिँदैन, सही सूचना जाओस् भनेर विज्ञप्ति निकालेका हौँ,’ उनले भनिन्।

सिन्धुपाल्चोक प्रशासनले भने बुधबार नै विज्ञप्ति जारी गर्दै छिमेकी चीन स्वशासित तिब्बतमा आज बुधबारदेखि सात दिनसम्म भारी वर्षा हुने भन्दै  भोटेकोशी तटीय क्षेत्रको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको थियो।

जाङ्मुपोर्टस्थित अध्यागमन कार्यालयका अधिकारीले नेपालतर्फ सीमा सुरक्षार्थ रहेका सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक जानकारी दिएर बाढीबाट हुने सम्भावित जोखिमबाट बच्न भनेको प्रशासनको दाबी छ।