१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
वासिंटन डिसी
२o८२ असार ४ बुधबार o७:५७:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

तेहरान खाली गर्ने ट्रम्पको चेतावनी, चीनले गर्‍यो विरोध

Read Time : > 1 मिनेट
वासिंटन डिसी
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार o७:५७:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक करोड जनसंख्या भएको तेहरान खाली गर्न आग्रह गरेका छन् । इजरायलले इरानमा आक्रमण बढाएका वेला यो चेतावनी आएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको व्यापक आक्रमणलाई ट्रम्पले समर्थन जनाउँदै आएका छन् । इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दालाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । त्यसैलाई प्रतिध्वनित हुने गरी ट्रम्पको चेतावनी आएकोजस्तो देखिन्छ । 

क्यानडामा भएको जी–७ शिखर सम्मेलनका भाग लिन गएका समयमै ट्रम्पले ट्रुथ सोसल खातामा लेखेका हुन् । तथापि, सो पोस्टमा ट्रम्पले किन तेहरान छाड्ने भन्नेबारे विस्तृत विवरण दिएका छैनन् । जी–७ शिखर सम्मेलनबाट चाँडै फर्किने वेलामा पत्रकारसँग बोल्दै उनले ‘देश फर्किएपछि केही हुने’ बताएका थिए । उनको चाँडै फिर्तीसँगै यो इजरायल–इरानबिच सम्भावित युद्धविरामका लागि हुनसक्ने चर्चा सुरु भएको थियो । तथापि, पछि उनले जी–७ शिखर सम्मेलनबाट चाँडै फिर्तीका पछाडि इजरायल र इरानबिचको सम्भावित युद्धविरामसँग ‘कुनै सम्बन्ध नभएको’ स्पष्टीकरण दिएका छन् ।

‘प्रचारका लागि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ इजरायल र इरानबिचको ‘युद्धविराम’मा सरिक हुन म जी–७ शिखर सम्मेलनबाट छिटै फर्किएँ भन्ने गलत कुरा बताउँछन् । तर, यो गलत हो । ‘त्योभन्दा ठुलो कुरा हुँदै छ । प्रतीक्षा गर्नुहोस् !’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । 

आगोमा घिउ थप्ने काम : चीन
चीनले तेहरान ‘तुरुन्त खाली गर्न’ ट्रम्पले दिएको चेतावनीप्रति विरोध जनाएको छ । ‘आगो लगाउने, घिउ खन्याउने, धम्की दिने र दबाब बढाउने कार्यले परिस्थितिलाई शान्त बनाउन सघाउँदैन । यसले द्वन्द्वलाई मात्र तीव्र रूपमा फराकिलो पार्छ,’ ट्रम्पको टिप्पणीबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, ‘चिनियाँ पक्षले सबै सम्बन्धित पक्ष, विशेषगरी इजरायलमाथि विशेष प्रभाव भएका देशलाई आफ्नो जिम्मेवारी बहन गर्न, तनाव कम गर्न तत्काल उपाय अपनाउन र द्वन्द्व विस्तार रोक्न आह्वान गर्छ ।’