
अघिल्लो वर्षको असोजमा आएको बाढीले नक्खु खोला किनारमा मच्चाएको विध्वंसको त्रास अझै पनि छ। बाढीले बगाएर ल्याएको रुखका ठुटा र मुढा अझै पनि खोला किनारमा छन् । सामान्य समयमा निकै तल देखिने नक्खु खोलाको रौद्र रूप अझै पनि खोला किनारका बस्तीमा बस्ने स्थानीयको मानसपाटलमा ताजै छ ।
‘पोहोरको बाढीले त सबै सखाप बनायो । पसल त पूरै डुबाएको थियो । खोलानजिकको त अझै कतिको घर त भुइँ तल्ला पुरै चुर्लुम्म अनि पहिलो तल्ला पनि आधा जति डुबाएको थियो । यो वर्ष पनि त्यस्तै हुने हो कि भन्ने डर मात्रै छ,’ नक्खु खोला किनारको बस्तीमा पसल व्यवसाय गरेर बसेकी आशालता श्रेष्ठले नयाँ पत्रिकालाई भनिन् ।
गत असोजमा आएको बाढीले बगाएर ल्याएको माटो र रुखका ठुटाहरू अझै पनि किनारमा असरल्ल छन् । अझ केही घरका बाहिरी भित्तामा बाढीको दाग असोजको बाढीको साक्षी बनेर बसिरहेका छन् ।