
पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेका छन् । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो ।
पहिलो ब्याटिङ गरेको पाँचपोखरी १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धितालले ५२ बलमा सात चौकासहित ६१ रन बनाएका थिए ।
बुद्धि तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए । मेलम्चीका कप्तान रिन्जिङ लामाले एक विकेट लिए । दुवै टोलीले जनही ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।