
मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाबाट लागुऔषध तथा हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका– १ का राजु स्याङतान रहेका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार साँझ उनको घरमा छापा मारी पक्राउ गरेको हो।
प्रवक्ता अर्यालका अनुसार स्याङतानलाई घरको अगाडि फेला पारेर विधिपूर्वक शरीर, घर र गोठ खानतलासी गर्दा सुत्ने कोठाको सिरानीमुनि लुकाइएको अवस्थामा ७.६५ एम एमको युनिभर्सल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, म्यागजिन दुई थान र गोली १३ राउन्ड फेला परेको थियो ।
त्यसैगरी, गोठको दोस्रो तलामा मकैको खोस्टा र पत्करबिच लुकाइएको अवस्थामा कपडामा बेरेर राखिएको कटुवा पेस्तोल एक थान, आठ एमएम लेखिएको १२ राउन्ड गोली, करिब एक किलो ३१० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ र २२ किलो आठ सय ग्राम गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । स्याङतान यसअघि पनि लागुऔषध तथा हातहतियार मुद्दामा दुईपटक पक्राउ परी सजाय भुक्तान गरिसकेको प्रवक्ता अर्यालले जानकारी दिए ।
२०७ मा लागुऔषध मुद्दामा पक्राउ परी दुई वर्ष र ४ साउन ०७६ मा गाँजा तथा हातहतियार मुद्दामा पक्राउ परी स्याङ्तानले पाँच वर्ष ६ महिना कैद सजाय भुक्तान गरी माघ २०८१ मा मात्र छुटेका थिए। पुनः पक्राउ परेका स्याङतानमाथि लागुऔषध तथा हातहतियारसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।