
नेपालमा पहिलोपटक सन् २०२४ मा गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ । नेपालका सातवटै प्रदेशहरू र तीनवटै भौगोलिक क्षेत्रहरू समेटिने गरी देशका विभिन्न ३४ वटा जिल्लाहरूका तीन हजार ३८२ जना विवाहित महिला र पुरुषहरूमा गरिएको यो अध्ययनले अहिलेसम्म लुकेको र भित्रभित्र भयावह रूपमा रहेको यो गम्भीर विषयलाई उजागर गरेको छ ।
स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, सयुक्त राष्ट्र संघीय जनसंख्या कोषलगायतका संस्थाहरूको सहयोगमा अध्ययन गरिएको थियो । सन् २०२४ मा गरेको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय सर्वेक्षणको नतिजा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सार्वजनिक गरे । अनुसन्धानकर्ता डा. खेमबहादुर कार्कीका अनुसार यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको देखिन्छ।
विश्वमा सरदर आधाजति मानिसले नाै महिनामा चार सय ९५ र पुरुषमा चार हजार तीन सय ५० ले कुनै न कुनै प्रकारको यौन दुर्बलताको अनुभव गरेको तथ्यांक रहेको छ। यसमध्ये एसियाली देशका नागरिकहरूमा यो दर झन् धेरै रहेको देखिन्छ। सन् २०११ मा प्रकाशित अनुसन्धानमूलक लेखका अनुसार मलेसियाका पुरुषहरूमा २७.६९ प्रतिशतसम्म, सिंगापुरका पुरुषहरूमा ५१.७३ प्रतिशतसम्म र हङकङका पुरुषहरूमा ६४ प्रतिशतसम्ममा लिंग उत्तेजित नहुने समस्या देखाइएको छ। यसैगरी सिंगापुरका ५६ प्रतिशत महिलाहरूमा यौन दुर्बलता रहेको तथ्यांक पाइन्छ ।
नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषहरूको गम्भीर दुर्बलता छ भने ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ। यौन दुर्बलता भएकामध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको बताएका छन् । त्यसैगरी ९२ प्रतिशत महिला, पुरुषले यौन चाहना नै नहुने बताएका छन्। यसले उनीहरूको जीवन तनावपूर्ण भएको वा उनीहरूको स्वास्थ्यमा केही न केही समस्या छ भन्ने संकेत गर्दछ।
यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनि सुक्खा हुने समस्या छ । करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्ने गरेको अध्ययनले देखाएको डा. कार्कीले बताए ।