
महाकाली चार लेनको तटबन्ध पुनर्निर्माणका लागि चुरेका खोलाबाट ढुंगा निकालिने भएको छ । चार लेन पुलको तटबन्ध गत वर्ष महाकाली नदीको बाढीले झन्डै तीन सय मिटर भत्किएको थियो । यस वर्ष सरकारले असारदेखि असोजसम्म भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ विपत् व्यवस्थापन घोषणा गरेर नेपाली सेनामार्फत जेठ दोस्रो सातादेखि भत्किएको तटबन्ध पुनर्निर्माणदेखि नदीको च्यानलाइजेसन गरिरहेको छ ।
भत्किएको तटबन्ध पुनर्निर्माणका लागि ठुला परिमाणका ढुंगा आवश्यक परेपछि जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सेनालाई ढुंगा उपलब्ध गराउने निर्णय गरेको छ ।जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भीमदत्त र वेदकोट नगरको उत्तरी चुरेका खोला नदीबाट ६० सेन्टिमिटरभन्दा बढीका ढुंगा निकाल्ने निर्णय भएको बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मणप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले तटबन्ध पुनर्निर्माणका लागि भीमदत्त नगरकोे भिमरीगाड, खन्यखोला, कामिकाटे र वेदकोटको रौटेलासहितका खोलाबाट ढुंगा उपलब्ध गराउने निर्णय भएको छ ।
सडक विभागका सहसचिवसमेत रहेका सिनियर इन्जिनियर थानेश्वर खत्रीले महाकाली पुलको पुरानो डिजाइन फेल भएको र नयाँ डिजाइनअनुरूप अहिले काम भइरहेको बताए ।