
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भुलवश बजेटमा ‘टेक एन्ड पे’को अवधारणमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्ने विषय आएको बताएका छन् । सरकारले १५ जेठमा ल्याएको आगामी आवको बजेटमा अब टेक एन्ड पे अर्थात् चाहिएका वेला मात्रै विद्युत् किन्ने व्यवस्था समावेश छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले १० वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका वेलामा त्यस्तो व्यवस्था लागू गर्न नहुने भन्दै सच्याउन अर्थ मन्त्रालयमा पत्राचार गरेको पनि बताए । ‘यो कुनै योजनाबद्ध तरिकाले नआईकन भुलवश लेख्ने क्रममा केही तलमाथि हुन गएको हाम्रो बुझाइ रहेको छ,’ उनले भने, ‘प्राधिकरण र ऊर्जा मन्त्रालयले निर्णय गरेर त्यो सच्चाउन अर्थ मन्त्रालयमा पठाएका छौँ ।’
यस्तै, उनले बंगलादेशमा विद्युत् निर्यातबाट पाँच महिनामा ९४ लाख डलरबराबरको आम्दानी हुने बताए । प्राधिकरणले शनिबार राति १२ बजेदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु गरेको छ । आगामी नोभेम्बर १५ तारिखसम्म प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । ऊर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए । ऊर्जामन्त्री खड्काले जलविद्युत् क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सरकारले विनाधितो दुई लाखदेखि पाँच लाखसम्मको सेयर प्रदान गर्न लागेको बताए । अब आयोजना प्रभावित बासिन्दालाई दिने सर्वसाधारण सेयरको अनुपात ४९ प्रतिशत पुर्याउने उनको भनाइ छ ।
ऊर्जासचिव सुरेश आचार्यले आगामी दिनमा बंगलादेशमा थप विद्युत् निर्यात गर्न छलफल भइरहेको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरी अर्बौँ आम्दानी हुने बताए ।