१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
२o८२ जेठ २६ सोमबार o९:२१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बजेटमा चलखेल भए कारबाही हुन्छ : मुख्यमन्त्री शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार o९:२१:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी बनाउन लागिपरेको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बजेट निर्माणका क्रममा कसैबाट हुने चलखेल स्वीकार्य नहुने बताए ।

बजेटमा चलखेल भएको सुनिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले त्यस्तो भेटिए संलग्नलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिए । उनले प्रदेशको समग्र विकास, समृद्धि, सुशासनप्रवर्धन, भ्रष्टाचार नियन्त्रण, योजना छनोट तथा बजेट विनियोजनका सन्दर्भमा गत आर्थिक वर्षको बजेट निर्माणका क्रममा सरकारले घोषणा गरेको चारबुँदे प्रतिबद्धतालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए ।

प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि न्यूनतम २५ लाखभन्दा माथिको बजेट सिलिङ यस वर्ष पनि कायम गरी बजेट विनियोजन गरिने उनले बताए । मुख्यमन्त्री शाहले २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्था आएमा त्यस्ता योजनालाई ससर्त अनुदानका रूपमा स्थानीय तहमा हस्तान्तरण गरिने बताए ।

‘प्रदेश सरकारबाट कार्यान्वयन गरिने कुनै पनि योजना उपभोक्ता समितिबाट कार्यान्वयन गरिनेछैन,’ शाहले भने, ‘प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थाहरूलाई तोकेर बजेट विनियोजन गर्नेछैन ।’ बजेट तर्जुमा गर्दा आवधिक योजना, मध्यावधि खर्च संरचना, प्रादेशिक सडक सञ्जाल गुरुयोजना, आयोजना बैंक तथा दिगो विकास लक्ष्यलाई प्रमुख आधारका रूपमा लिइने उनले बताए ।