१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ २६ सोमबार o७:१५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमतीका सांसदलाई पाँच करोडसम्मको योजना बाँडिँदै

सर्वोच्चको आदेशविपरीत सांसदलाई सोझै योजना बाँड्ने तयारी, प्रत्यक्षले पाँच र समानुपातिकले दुई करोडसम्मका योजना पाउने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार o७:१५:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा बजेटमा ‘सांसद विकास कोष’ उल्लेख नगरी सांसदलाई सोझै योजना बाँड्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई दुई करोडको सीमाभित्र रहेर योजनाका लागि बजेट दिइने भएको छ ।

सर्वाेच्च अदालतले ‘सांसद विकास कोष’ नामबाट बजेट दिन रोक लगाएपछि घुमाउरो बाटोबाट बजेट दिइन लागिएको हो । गत १५ जेठमा बजेट ल्याएको संघ सरकारले पनि यही बाटोबाट सहरी विकास, भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, पर्यटनसहितका मन्त्रालयबाट सांसदले सिफारिस गरेका योजनामा बजेट विनियोजन गरिएको थियो ।

बागमतीले पनि विषयगत मन्त्रालयको बजेटमा समावेश गर्ने गरी सांसदबाट योजना माग गरेको एक प्रदेश सांसदले बताए । ‘प्रत्यक्ष निर्वाचितलाई पाँच करोड र समानुपातिकलाई दुई करोडको सिलिङभित्र रहेर निर्वाचन क्षेत्रका योजना सिफारिस गर्न भनिएको छ,’ ती सांसदले भने, ‘हामीले योजना पनि सिफारिस गरेका छौँ, अब असारमा आउने बजेटमा पर्छ ।’ संसद् सचिवालयस्थित संसदीय दलका कार्यालयमा सांसदका योजना छनोट गर्ने र मन्त्रालयमा पठाउने काम तीव्र भइरहेको छ । सत्तापक्ष र प्रतिपक्षबिच विभेद
योजना छनोटमा भने प्रतिपक्षी दलका सांसदलाई विभेद गरिएको छ । सत्तारुढ दलका सांसद ( प्रत्यक्षतर्फका)लाई पाँच करोड र समानुपातिकतर्फ तीन करोडसम्म बजेट दिने तयारी भए पनि प्रतिपक्षको हकमा भने दुई चरणमा बजेट दिइने भएको छ । पहिलो चरणमा प्रतिपक्षका प्रत्यक्ष सांसदलाई तीन करोड र समानुपातिकलाई एक करोडका योजना दिने र दोस्रो चरण (पछि रकमान्तर गर्ने गरी)मा क्रमशः दुई र एक करोड थप्ने तयारी भएको प्रतिपक्षी सांसदले आरोप लगाएका छन् । उनीहरूले सरकार बजेटलाई शक्ति सन्तुलनको माध्यम बनाउँदै विपक्षी सांसदलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

प्रतिपक्ष दलका एक सांसदका अनुसार सरकारले प्रतिपक्षलाई दुई चरणमा बजेट दिने गरी कार्यक्रम पेस गर्न भनिएको छ। ‘पहिलो चरणमा प्रत्यक्षतर्फका सांसदलाई तीन करोड र समानुपातिकतर्फ एक करोडसम्म कार्यक्रम उपलब्ध गराउने निर्देशन दिइएको छ,’ उनले भने ।

उनका अनुसार दोस्रो चरणमा पुनः प्रत्यक्ष तर्फका एक करोड र समानुपातिकका तीन करोड रुपैयाँका आयोजना माग गरेर बजेट दिइनेछ । एक सय १० सदस्यीय प्रदेश सभामा सत्तारुढ दलका प्रत्यक्ष र समानुपातिकतर्फका ६४ सांसद छन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । प्रतिपक्षतर्फ माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद रहेका छन् । 

प्रदेश सरकारको बजेटमा निर्माण हुँदै कांग्रेस दोलखाको कार्यालय 
बागमती प्रदेश सरकारको बजेटमा कांग्रेस दोलखाको कार्यालय निर्माण भइरहेको छ । बिपी स्मृति भवनका नाममा भीमेश्वर नगरपालिका– ६ मा निर्माण हुने भवनको राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले १७ जेठमा शिलान्यास गरेका थिए ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय धुलिखेलले ९ जेठमा बिपी स्मृति भवनको नामबाट कांग्रेस दोलखाको पार्टी कार्यालय दुई वर्षभित्र बनाउन ठेक्का सम्झौता गरेको पाइएको छ । दुई करोड १४ लाख ८९ हजारमा भवन निर्माणको ठेक्का पिआर/यांगा/डाइनामेट जेभी कम्पनीले पाएको सहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी इन्जिनियर सिद्धिराज तिमल्सिनाले बताए । उनका अनुसार भीमेश्वरमा निर्माण हुने भवन पाँचतले हुनेछ । आगामी असारभित्र फ्रेम संरचना र बाहिरी पर्खालको काम सक्ने लक्ष्य रहेको र बहुवर्षीय योजनामा परेको भवन अर्को आर्थिक वर्षभित्र संरचना निर्माण सकिने तिमल्सिनाले बताए ।  

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८१/८२ को बजेटमा उक्त भवनका लागि प्रारम्भिक रूपमा १५ लाख बजेट विनियोजन गरेको थियो । कांग्रेस नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले थप रकम रकमान्तर गरी बजेट चार करोड २० लाख रुपैयाँ पुर्‍याएका थिए । संघको सहरी विकास मन्त्रालयले पनि तरुण दलको केन्द्रीय कार्यालय (गणेशमान सिंह स्मृति भवन) बनाउन तीन करोड विनियोजन गरेको छ ।