
सरकारले यस वर्ष चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ ७९ पैसा तोकेको छ । यो मूल्यका आधारमा किसानले प्रतिमन एक हजार १२० रुपैयाँ २७ पैसा पाउनुपर्ने हो । सरकारले यस वर्ष गत वर्षको भन्दा बढी समर्थन मूल्य तोकेको छ । गत वर्ष चैतेधानको समर्थन मूल्य दुई हजार ७०७ रुपैयाँ तोकिएको थियो । तर, व्यवहारतः झापाका किसानले गत वर्षको तुलनामा चैतेधानको मूल्य आधा पनि पाएका छैनन् ।
झापाका किसान सरकारले तोकेको समर्थन मूल्यको आधा मूल्यमा चैतेधान बिक्री गर्न बाध्य छन् । झापाका किसानले यस वर्ष पाँच सयदेखि ६ सय प्रतिमनसम्म मात्र चैतेधानको मूल्य पाइरहेका छन् । जसले उनीहरूको उत्पादन लागतसम्म उठ्न सकेको छैन । किसानले उत्पादन लागतभन्दा धेरै कम मूल्यमा यस वर्ष चैतेधान बेचिरहेका छन् । योभन्दा मूल्य अझै कम हुने डरले किसानले उत्पादन लागत पनि नउठ्ने गरी चैतेधान बेचिरहेका हुन् । ‘यसपटक एक बिघामा सय मन धान फलाएँ । तर, मूल्य नहुँदा धान फलाउन गरेको लगानी पनि उठेन । आफ्नो मिहिनेतको त कुरै नगरौँ,’ गौरीगन्ज– १ का महाभाराका किसान सुरेश राजवंशी भन्छन्, ‘धानको भाउ अझै घट्छ भन्दै छन् । तसर्थ, घाटा लागेर पनि धमाधम बेचिरहेका छौँ ।’
गत वर्ष प्रतिमन १३ सयसम्म मूल्य रहेको चैतेधान यसपटक आधा मूल्य हुँदा किसान मर्कामा परेका छन् । सरकारले तोकेको समर्थन मूल्य नपाएपछि झापाको गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिकाका किसानले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।
पछिल्लो केही दिनयता झापाको गौरादह र गौरीगन्ज गाउँपालिकाका किसानले निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरूले सडकमा हलो, कोदालोसहित प्रदर्शन गरिरहेका छन् । यस्तै, सडकमै धान फ्याँकेर केहीबेर चक्काजाम गरेरसमेत विरोध गरेका थिए । सरकारले किसानको मर्का नबुझेपछि आन्दोलनमा उत्रनुपरेको किसानले बनाएको संघर्ष समितिका अध्यक्ष इन्द्र पोखरेल बताउँछन् । ‘म आफैँले अँधियामा डेढ बिघामा चौतेधान लगाएको थिएँ । तर, यसपटक चैतधानले मूल्य नपाउँदा उत्पादन लागत पनि उठेन । तसर्थ, आन्दोलनमा उत्रनुपरेको हो । गत वर्ष प्रतिमन १३ सयसम्म धान बिक्री भएको थियो । यसपटक ५५० रुपैयाँदेखि ६ सयसम्म मात्र धान बिक्री भइरहेको छ,’ उनी भन्छन्, ‘धान काट्ने मेसिन प्रयोग गर्दा प्रतिघण्टा ६ हजारसम्म लिन्छ । धानको भन्दा त्यसको भाडा धेरै भएपछि किसानले धान नै जिम्मा लगाएका घटना पनि छन् ।’
आवश्यक परेको समयमा मल नपाउने समस्या त छँदै छ । किसानले सरकारले तोकेको चैतेधानको समर्थन मूल्यसमेत नपाएको पोखरेलको गुनासो छ । ‘सरकारले चैतेधानको समर्थन मूल्य तोकेको छ । त्यही समर्थन मूल्यअनुुसार मूल्य दिएदेखि केही हदसम्म सहज हुने थियो । तर, नियमकारी निकायले बेवास्ता गर्दा किसानले सरकारले तोकेको मूल्य नै पाउँदैनन्,’ उनी भन्छन्, ‘सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भन्छ । तर, किसान सबैभन्दा बढी मारमा छन् । समयमा मल पाइँदैन । नपाएपछि भारतबाट मल ल्याउनुपर्ने बाध्यता छ । नाकामा प्रहरीले मल ल्याउँदा दिएको दुःख त भनिसाध्य छैन ।’
कृषि क्षेत्र र किसानलाई बचाइराख्न सरकारले विशेष योजना ल्याउनुपर्ने कृषकको माग छ । ‘चैतेधान रोप्नका लागि सिँचाइमा बोरिङकै भर पर्नुपर्छ । यस्तो अवस्थामा कि त बिजुलीको महसुल छुट दिनुपर्छ, कि त स्थानीय तहले तिरिदिनुपर्छ । होइन भने खेती गर्न नै गाह्रो भयो । खेती गर्नुभन्दा खेत नै बाँझै छाड्न उपयुक्त हुने भयो,’ संघर्ष समिति अध्यक्ष पोखरेल भन्छन्, ‘कृषिप्रधान देशमा कृषकको यो हविगत छ । यसमा सरकारको ध्यान नगएसम्म आन्दोलन जारी राख्छौँ । अनशनसम्म बस्ने तयारी गर्दै छौँ ।’
गौरीगन्ज– १ का किसान प्रेम तामाङले पनि यसपटक चैतेधानको मूल्य सोचेअनुरूप पाएनन् । उनले यसपटक करिब सय मन धान फलाए । तर, राख्ने ठाउँ नहुँदा उधारोमा धान व्यापारीको जिम्मा लगाएका छन् । ‘यसपटक धान त कौडीको भाउमा पनि गएन । फलेको धान राख्ने ठाउँ छैन । पानी आयो भने झन् बर्बाद हुन्छ । अहिले तत्काल पैसा दिएर धान किन्दैनन्,’ उनले भने, ‘कति हो मूल्य पनि थाहा छैन । जति दिए पनि देऊ भनेर व्यापारीलाई सय मन धान दिएँ । अब कति पैसा दिन्छन् उनीहरूकै हातमा छ ।’
झापाका सबै स्थानीय तहमा बर्खे र चैतेधान उत्पादन हुँदै आएको छ । यस वर्ष झापामा २० हजार हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । यसपटक एक लाख मेट्रिकटन चैतेधान फल्ने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।
‘गत वर्ष १९ हजार आठ हेक्टरमा चेतैधान लगाउँदा ९७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष केही क्षेत्रफल बढेको छ । गत वर्ष किसानले चैतेधानको मूल्य प्रतिमन १२ सयसम्म पाए । सबैभन्दा कम हुँदा पनि नौ सयसम्म पाए,’ प्रमुख विष्टले भने, ‘गत वर्ष राम्रो मूल्य पाएपछि यस वर्ष चैतेधान अलिक धेरै क्षेत्रफलमा रोपियो । तर, यस वर्ष मूल्य घटेको छ । मूल्य घट्नुको कारण पत्ता लागेको छैन ।’
यस वर्ष चैतेधान उत्पादन गर्ने किसान मर्कामा रहेको उनी बताउँछन् । यसपटक चैतेधान उत्पादक कृषकको लागत मूल्य पनि नउठ्ने उनी बताउँछन् । ‘यसपटक चैतेधानको मूल्य अत्यन्तै न्यून छ । प्रतिमन पाँच सयदेखि ६ सयसम्म बिक्री भइरहेको छ । यसले त किसानको लागत पनि उठ्दैन । किसान घाटामा जान्छन् । प्रतिमन नौ सयसम्म हुँदा पनि किसानलाई केही राहत हुने थियो । बर्खेधानभन्दा चैतेधान केही धेरै फल्छ,’ उनी भन्छन्, ‘यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । सरकारले मिलको क्षमता बढाउन लगानी गर्नुपर्छ । मिलहरूसँग धेरै धान भण्डारण गर्न सक्ने क्षमता छैन । चैतेधान चिसो हुनाले धेरै समय राख्दा मिललाई पनि घाटा हुन सक्छ । तसर्थ यसमा सरकारले नै ध्यान दिनुपर्छ । यसपटक अझै पानी पर्ने भएका कारण चैतेधानको मूल्य अझै घट्ने सम्भावना पनि छ ।’